काठमाण्डौ । प्रभू बैंक लिमीटेड थप जर्जर बनेको छ । केही ठूला कर्जाहरुको घोटालाका कारण समस्यामा फसेको यो बैंकलाई सुधारका लागि राष्ट्रबैंकको गभर्नर डा. विश्वनाथ पौडेलको ठाडो आदेशमा सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिए पनि उनले अवस्थालाई अझै ट्रयाकमा ल्याउन नसकेका वित्तीय विवरणले देखाएको छ ।
समस्यै समस्यामा फसेर केन्द्रीय बैंकले नै टेकओभर गर्ने अवस्थाबाट फर्किएको बैंकलाई सुमन शर्माले नेतृत्व दिन थालेपछि अवस्थामा तात्विक भिन्नताको कुनै संकेत नै नदेखिएको र संस्थाभित्र उल्टो गुटबन्दी, विभेद र असन्तुष्टि व्यापक रहेको कर्मचारीहरुले गुनासो गरिरहेको बेला वित्तीय विवरण पनि सन्तोषजनक नआएको हो ।
बैंकको खराब कर्जा बढेर ९ प्रतिशत नजिक पुगेको छ भने वितरणयोग्य मुनाफा ४ अर्ब २८ करोड बढीले ऋणात्मक बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा वितरणयोग्य मुनाफा ३ अर्ब ३९ करोडले मात्र ऋणात्मक थियो । यसरी ऋणात्मक अवस्था घट्नुको साटो झन् झन् बढिरहेको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा बैंकको नाफामा गिरावट आउनुका साथै वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा अनुपातमा वृद्धि, आरओई, कर्जा प्रवाह र निक्षेप संकलनमा गिरावट आएको छ ।
तेस्रो त्रैमाससम्म बैंकको खुद नाफामा ५४.६१ प्रतिशतको गिरावट आएको छ । बैंकले समीक्षा अवधिसम्म ८५ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेकोे छ । जबकी बैंकले अघिल्लो आवको सोही अवधिसम्म भने १ अर्ब ८७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने १.३६ प्रतिशतले बढेको छ । बैंकले ७ अर्ब १८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब २८ करोड रुपैयाँले ऋणात्मक बन्न पुगेको छ ।
यस्तै बैंकको खराब कर्जा अनुपात पनि ५.०९ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा ७.४३ प्रतिशत रहेको आरओई(वार्षिक) घटेर ३.३० प्रतिशतमा सीमित बनेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब ४२ अर्बबाट घटेर ३ खर्ब ३५ अर्ब र कर्जा प्रवाह पनि २ खर्ब २५ अर्बबाट घटेर २ खर्ब २१ अर्बमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)४.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.२६ रुपैयाँ, पीई रेसियो ४३.३४ गुणा र तरलता अनुपात ४०.०१ प्रतिशत कायम भएको छ ।

