काठमाण्डौं । वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक दबाबमा परेको भन्दै सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन आग्रह गरेको छ।
संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रीलाई ध्यानाकर्षण गराउँदै पछिल्लो समय सञ्चालन खर्च तीव्र रूपमा बढेको र कम्पनीहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको जनाएको छ।
इन्धन मूल्यवृद्धिले बढ्यो दबाब
संघका अनुसार विश्व बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य अत्यधिक बढ्दा वायुसेवा कम्पनीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
पहिले कुल खर्चको करिब ३० देखि ४० प्रतिशतसम्म रहेको इन्धन खर्च अहिले बढेर ४५ देखि ५० प्रतिशतसम्म पुगेको संघको दाबी छ।
पर्यटन क्षेत्रमा असर
२०७९ माघमा भएको जहाज दुर्घटनापछि पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव, पर्यटक आगमनमा आएको गिरावट तथा अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिले समेत वायुसेवा कम्पनीहरूको आम्दानी घटाएको संघले जनाएको छ।
यसले गर्दा सञ्चालन खर्च बढ्दै गएको तर आम्दानी भने घटिरहेको स्थिति रहेको उल्लेख गरिएको छ।
शुल्कमा छुट र नीतिगत सुधारको माग
संघले वायुसेवा कम्पनीहरूबाट लिइँदै आएका ल्याण्डिङ, पार्किङ, नेभिगेसन, ह्याङ्गर तथा अन्य विमानस्थल सम्बन्धी शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरेको छ।

त्यस्तै, हाल अमेरिकी डलरमा निर्धारण गरिएका विभिन्न सेवा शुल्कलाई नेपाली रुपैयाँमा रूपान्तरण गरी पुनरावलोकन गर्नुपर्ने माग पनि गरिएको छ।
२०७५ मा स्वीकृत विमानस्थल सेवा शुल्कसम्बन्धी नियमावली संशोधन आवश्यक रहेको संघको भनाइ छ।
कर छुट र प्रोत्साहनको अपेक्षा
नेपाल औद्योगिक ऐन २०७६ अनुसार हवाई सेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योगका रूपमा राखिए पनि व्यवहारिक रूपमा कुनै ठोस प्रोत्साहन वा सुविधा नपाइएको संघले जनाएको छ।
त्यसैले अन्य विशेष उद्योगसरह २० प्रतिशत आयकर छुटको व्यवस्था गर्न पनि माग गरिएको छ।

सेवा निरन्तरतामा जोड
वर्तमान आर्थिक चुनौतीका बीच वायुसेवा कम्पनीहरूको सेवा निरन्तरता सुनिश्चित गर्न, यात्रुहरूलाई सुरक्षित र सहज सेवा दिन तथा उद्योगलाई संकटबाट जोगाउन सरकारले तत्काल नीतिगत सहयोग र सहुलियत दिनुपर्ने संघको आग्रह छ।

