काठमाण्डौं । सरकारले विकास, वातावरण र आपूर्ति व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्दै विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग क्षेत्रमा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न परम्परागत बोइलरलाई विद्युतीय बोइलरले प्रतिस्थापन गर्ने कार्यक्रम तथा वायु गुणस्तर मापन क्षमता विस्तारका लागि ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले कृषि क्षेत्रका लागि भारतसँग सरकारी–सरकारी जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।
त्यस्तै, सिंहदरबार परिसरको प्रवेश व्यवस्थासहितको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने र संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले बताए।

