काठमाण्डौं । रूकुम (पूर्वी भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकामा सञ्चालित कागती पकेट विकास कार्यक्रमसँग सम्बन्धित अनियमितता प्रकरणमा तात्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहित सात जनाविरुद्ध ११ लाख ६९ हजार ७६० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सो प्रकरणमा वडा नं. १२ का तात्कालीन वडाध्यक्ष गङ्गाबहादुर पुन, इन्जिनियर खुबिराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसी, योजना शाखा प्रमुख (कम्प्युटर अपरेटर) चित्रबहादुर केसी, कृषि प्राविधिक ओमप्रकाश ओली, सह–लेखापाल नवराज खड्का, साथै पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि र त्यसका अध्यक्ष सुजन पुनलाई समेत अभियुक्त बनाइएको छ ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त सङ्घीय सःशर्त अनुदानको दुरुपयोग भएको देखिएको हो ।
छमारी (वडा नं) १२० मा सञ्चालन गरिएको कार्यक्रममा २०७७ चैत २५ गते सम्झौता भएपनि कार्यान्वयन चरणमा वास्तविक काम नभए पनि कागजी रूपमा सम्पन्न देखाई नापी किताबमा समावेश गरिएको र सोही आधारमा बढी रकम भुक्तानी गरिएको आरोप छ ।
यस प्रक्रियाले सरकारी स्रोतको दुरुपयोग र हिनामिनालाई बढावा दिएको आयोगको ठहर छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार ११ लाख ६९ हजार ७६० रुपैयाँ बिगो कायम गर्दै दोषी ठहरिए सजाय हुने मागसहित मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरिएको आयोगले जनाएको छ ।

