काठमाण्डौ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सबै ई–कमर्स कम्पनीहरुलाई आफ्नो वेबसाइट तथा प्लेटफर्मबाट बोर्नभिटासहित सबै पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन दिएको छ ।
भारतको वाणिज्य मन्त्रालयले राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको एक कानूनी अंगको जाँचका क्रममा बोर्नभिटा लगायतका पेय पदार्थहरु‘हेल्थ पेय डेफिनेशन’ नपाइएकार्ले ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन दिएको हो ।
यसअघि गत अप्रिल २ मा भारतको ‘फुड सेफ्टी एण्ड अथोरिटी अफ इण्डिया(एफएसएसएआई)ले भारतका सबै ई–कमर्स कम्पनीहरुलाई आफ्नो वेबसाइटमा बिक्री गरिने खाद्य पदार्थहरुलाई उचित श्रेणीमा राख्न निर्देशन दिएको थियो ।
यसका साथै एफएसएसएआईले कुनै पनि पेय पदार्थको बिक्री बढाउनका लागि हेल्थ ड्रिंक तथा इनर्जी ड्रिंक जस्ता शब्दको प्रयोग नगर्न निर्देशन दिएको थियो ।
भारतको राष्ट्रिय बाल अधिकार संरक्षण आयोग(एनसीपीसीआर)ले गत वर्ष बोर्नभिटा बनाउने कम्पनी मोन्डेलेज इन्टरनेशनल इण्डिया लिमिटेडलाई नोटिस जारी गरेको थियो । उक्त नोटिसमा बोर्नभिटामा चिनीको मात्रा धेरै भएको र केहि यस्तो तत्व पनि भएको जसले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने बताइएको थियो । एनसीपीसीआरले कम्पनीलाई आफ्ना सबै प्रडक्टको विज्ञापन, प्याकेजिङ र लेबलको समीक्षा गर्न र त्यसलाई फिर्ता गर्न भनेको थियो ।
भारतीय मिडिया रिपोर्टका अनुसार भारतको इनर्जी ड्रिंक र स्पोर्ट्स ड्रिंकको वर्तमान बजारको आकार ४.७ बिलियन डलर छ । जुन सन् २०२८सम्म वार्षिक ५.७१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । -एजेन्सी