मंगलवार, फाल्गुन ५,२०८२ 02:33:57
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:33:57
Bizshala
Global IME Bank Limited

नेप्से सूचना प्रविधि प्रणाली अडिट: औपचारिकता मात्र होइन, विश्वास पुनर्स्थापनाको अवसर

नेप्से सूचना प्रविधि प्रणाली अडिट: औपचारिकता मात्र होइन, विश्वास पुनर्स्थापनाको अवसर
Shivam Cement

-डीडी राजा

 

हालै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचना प्रणाली (Information System) अडिटका लागि संस्था/परामर्शदातालाई सूची दर्ता/अद्यावधिक गर्न सूचना प्रकाशित गरेको छ। नेप्सेको संवेदनशील कारोबार तथा सूचना प्रविधि प्रणाली अडिटको पहल हुनु स्वागतयोग्य कदम भए पनि प्रकाशित सूचनामा अडिटरको आवश्यक योग्यता, अनुभव, कार्यक्षेत्र र स्पष्ट मापदण्ड उल्लेख नहुनुले गम्भीर प्रश्न उठाएको छ।

विगतमा प्रणालीमा “कैफियत नभेट्टिएको” प्रतिवेदन सार्वजनिक भए पनि व्यवहारमा प्रणाली तथा सञ्चालनसम्बन्धी समस्या दोहोरिने गरेको अनुभव छ। त्यसैले अहिलेको अडिट औपचारिक प्रक्रिया मात्र नभई वास्तविक प्रणाली सुधारको आधार बन्न आवश्यक छ। स्पष्ट उद्देश्य, दायरा र मापदण्डसहित सम्पन्न अडिटले सूचना प्रविधि संरचनाको सुदृढीकरण र संस्थागत रूपान्तरणको दिशा प्रस्तुत गर्न सक्छ; अन्यथा यो कागजी अभ्यासमै सीमित रहने जोखिम रहन्छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

औपचारिकताभन्दा परिणाममुखी अडिट आवश्यक

अडिट केवल “सम्पन्न गर्‍यौं र प्रतिवेदन बुझायौं” भन्ने प्रक्रियामा सीमित हुनु हुँदैन। स्पष्ट कार्यविवरण (Terms of Reference), आवश्यक प्राविधिक योग्यता, क्षेत्रीय विशेषज्ञता तथा वस्तुनिष्ठ मूल्यांकन मापदण्ड निर्धारण गरी प्रभावकारी अडिट सम्भव हुँदैन। यी आधारहरू सुनिश्चित नभएसम्म प्रणालीभित्रका वास्तविक कमजोरीहरूको यथार्थ पहिचान गर्न सकिँदैन।

नेप्सेको सिस्टम अडिटसम्बन्धी सूचना । 

विगतमा नेप्सेमा कार्यरत कर्मचारीसँग सम्बन्धित इन्साइडर कारोबार तथा डेटा वा प्रमाण नष्टसम्बन्धी घटनाहरू सार्वजनिक भइसकेका सन्दर्भले अडिटको दायरा, गहिराइ र निष्पक्षताको महत्त्व अझ बढाएको छ। त्यस्ता घटनासँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका, अनुसन्धानको दायरामा रहेका वा स्वार्थको द्वन्द्व उत्पन्न हुनसक्ने व्यक्ति वा समूहलाई अडिट प्रक्रियाबाट पूर्ण रूपमा अलग राख्ने व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ।

नेपालमा नेप्से नै एकमात्र स्टक एक्सचेञ्ज भएकाले यस प्रकारको प्रणाली अडिटमा प्रत्यक्ष अनुभव भएका घरेलु फर्महरूको संख्या स्वाभाविक रूपमा सीमित छ। यस्तो अवस्थामा प्रतिस्पर्धालाई थप सीमित गर्ने प्रकृतिको “स्ट्याण्डिंग लिस्ट” तयार गर्नु उपयुक्त देखिँदैन। बरु स्पष्ट कार्यविवरण, योग्यता मापदण्ड र कार्यक्षेत्रसहित खुला प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गर्नु बढी व्यावहारिक विकल्प हुनसक्छ।

आवश्यक परे अन्तर्राष्ट्रिय स्तरको अनुभव भएका फर्मलाई प्रत्यक्ष सहभागी गराउने वा स्थानीय फर्मसँग अन्तर्राष्ट्रिय विशेषज्ञ संयुक्त रूपमा काम गर्ने व्यवस्था गरिनुपर्छ। यसले अन्तर्राष्ट्रिय अभ्यासको अनुभव भित्र्याउनुका साथै स्थानीय क्षमताको विकास र अडिट प्रक्रियाको विश्वसनीयता सुदृढ गर्न योगदान पुर्याउनेछ।

अडिट प्रक्रियामा निष्पक्षता र पारदर्शिता

प्राविधिक पक्ष जतिकै अडिट प्रक्रियाको निष्पक्षता र पारदर्शिता पनि उत्तिकै महत्त्वपूर्ण विषय हो। अडिटर छनोट प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निष्पक्ष हुनुपर्छ। निर्णय पूर्वनिर्धारित जस्तो देखियो भने त्यसले संस्थागत विश्वसनीयता तथा सार्वजनिक हितमा प्रत्यक्ष असर पार्छ। नेपाल सरकारको लगानी भएको सार्वजनिक संस्था नेप्सेको सूचना प्रणाली जस्तो संवेदनशील परीक्षणमा प्रक्रियामाथि उठेको आशंका स्वयंमा गम्भीर विषय हो।

कार्यविवरण (TOR) तयार गर्ने प्रक्रियामा स्वार्थको द्वन्द्व उत्पन्न भए परीक्षण हुनुपर्ने महत्त्वपूर्ण बुँदाहरू किनार पारिने वा सूक्ष्म रूपमा हटाउने जोखिम रहन्छ, जसले अडिटको निष्पक्षता र विश्वसनीयतालाई प्रत्यक्ष रूपमा प्रभावित गर्न सक्छ। त्यसैले कार्यविवरण, योग्यता मापदण्ड र मूल्यांकनका आधार स्वतन्त्र तथा विषयगत दक्षता भएको टोलीद्वारा तयार गरिनु आवश्यक छ। हाल प्रकाशित सूचनामा अडिटको दायरा, मूल्यांकन प्रक्रिया र छनोट आधारबारे स्पष्टताको अभावले पारदर्शितामा प्रश्न उठेको छ।

अडिट गर्ने संस्था पूर्ण रूपमा स्वतन्त्र, व्यवसायिक र पूँजीबजारसम्बन्धी पर्याप्त अनुभवयुक्त हुनुपर्छ। प्रत्यक्ष वा परोक्ष स्वार्थबिना निष्पक्ष परीक्षण गर्न सक्ने क्षमता नै अडिटको मूल आधार हो। अडिट प्रतिवेदन सिधै नियामक निकाय (सेबोन) लाई बुझाउने व्यवस्था भए प्रक्रिया अझ पारदर्शी बन्नसक्छ र प्रतिवेदनमा अनावश्यक प्रभाव पर्ने सम्भावना न्यून हुन्छ।

अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्ने

हालसम्मको अवस्थालाई हेर्दा सेबोनले प्रणाली अडिटसम्बन्धी स्पष्ट मापदण्ड तथा त्यसको कार्यान्वयनको आधार निर्धारण गरेको देखिँदैन। परिणामस्वरूप केही बजार सहभागीहरूले मनपरी ढंगले अडिट गरेका छन् भने केहीले अडिट नै नगरेको अवस्था देखिन्छ। नियमावलीमा प्रावधान भए पनि त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित भएको देखिँदैन, जसले नियामकीय निरीक्षणको प्रभावकारितामा प्रश्न उठाउँछ।

अन्तर्राष्ट्रिय अभ्यासमा नियामक निकायहरूले प्रणाली अडिटका लागि स्पष्ट मापदण्ड तोक्नुका साथै अडिटरको न्यूनतम योग्यता, अनुभव, कार्यविवरणको ढाँचा (फ्रेमवर्क) तथा स्वार्थको द्वन्द्वसम्बन्धी प्रावधान स्पष्ट रूपमा निर्धारण गरेका हुन्छन्। अध्ययन गर्दा नेप्सेको प्रणाली भारतीय स्टक एक्सचेञ्जले विकास गरेको मोडेलमा आधारित रहेको देखिन्छ। किनभने भारतको पूँजीबजार नियामक सेबीले स्टक एक्सचेञ्ज तथा अन्य बजार पूर्वाधार संस्थाहरूका लागि संरचित प्रणाली अडिट मापदण्ड लागू गरेको छ। अडिटरका लागि पूँजीबजारसम्बन्धी न्यूनतम अनुभव अनिवार्य गरिएको छ, अन्तर्राष्ट्रिय अडिट प्रमाणपत्रलाई प्राथमिकता दिइएको छ तथा स्वार्थको द्वन्द्व निषेधसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। अडिट प्रतिवेदन नियामक निरीक्षणमा रहने संरचना विकास गरी सम्भावित चलखेल नियन्त्रण गर्ने प्रयास गरिएको छ।

साथै सेबीले बढ्दो साइबर सुरक्षा जोखिमलाई दृष्टिगत गर्दै ‘साइबर सेक्युरिटी एन्ड साइबर रेजिलियन्स फ्रेमवर्क’ कार्यान्वयनमा ल्याएको छ, जसले नेटवर्क सुरक्षा, भल्नरेबिलिटी परीक्षण, पेनेट्रेशन टेस्टिङ, लग मोनिटरिङ, इन्सिडेन्ट रेस्पोन्स मेकानिज्म, बिजनेस कन्टिन्युटी योजना तथा डाटा सुरक्षालाई अडिट दायरामा अनिवार्य रूपमा समेटेको छ।

नेपालमा पनि प्रणाली अडिटलाई प्रभावकारी बनाउन स्पष्ट कार्यविवरण, न्यूनतम योग्यता, स्वार्थको द्वन्द्व नियन्त्रण तथा नियामकीय प्रत्यक्ष निरीक्षण सुनिश्चित गरिनु आवश्यक छ। संरचित मापदण्ड र पारदर्शी प्रक्रियाविना प्रणाली अडिटको उद्देश्य पूर्ण रूपमा हासिल हुन सक्दैन।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

वास्तविक सुधारका लागि आवश्यक कदम

१. स्वतन्त्र विज्ञ टोलीद्वारा स्पष्ट अडिट फ्रेमवर्क तयार गर्ने प्राविधिक तथा पूँजीबजार विज्ञसहित समावेश भएको स्वतन्त्र टोलीद्वारा स्टक एक्सचेञ्ज र ब्रोकरहरूको प्रणाली अडिटसम्बन्धी विस्तृत फ्रेमवर्क तत्काल तयार गरिनुपर्छ। फ्रेमवर्कले अडिटको दायरा, परीक्षण विधि, रिपोर्टिङ संरचना तथा न्यूनतम प्राविधिक मापदण्ड स्पष्ट गर्नुपर्छ। यस्तो आधारविना गरिएको अडिट दिशाहीन हुने जोखिम रहन्छ। आवश्यक भए नेप्से र सेबोनका प्रतिनिधि तथा स्वतन्त्र विज्ञसहितको संयन्त्रद्वारा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्दै कार्यविवरण, योग्यता तथा कार्यक्षेत्र परिभाषित गरी खुला बोलपत्र आह्वान गरिनुपर्छ।

२. सूचना प्रणाली अडिटको दायरा विस्तृत गर्ने अडिट केवल मुख्य कारोबार प्रणालीमा सीमित रहनु हुँदैन। कारोबार प्रणाली, आन्तरिक नियन्त्रण संयन्त्र, सहायक सूचना प्रविधि संरचना, व्यवसायिक प्रक्रिया, डिजास्टर रिकभरी साइट तथा तेस्रो पक्ष सेवा प्रदायकसँग जोडिएका प्राविधिक संरचनाको समग्र मूल्यांकन गरिनुपर्छ। सीमित दायराले समग्र जोखिम चित्र प्रस्तुत गर्न सक्दैन।

३. ब्रोकर प्रणालीको पनि अनिवार्य अडिट गर्ने कारोबारको अखण्डता बिन्दु ब्रोकर प्रणाली भएकाले केवल नेप्सेको प्रणाली परीक्षण पर्याप्त हुँदैन। ब्रोकरहरूको कारोबार तथा सूचना प्रणालीको नियमित र अनिवार्य अडिट व्यवस्था गरिनुपर्छ, जसले सम्पूर्ण कारोबार शृङ्खलाको सुरक्षा र विश्वसनीयता सुनिश्चित होस्।

४. अडिटर रोटेसन र स्वार्थको द्वन्द्व नियन्त्रण गर्ने एकै अडिटरलाई निरन्तर जिम्मेवारी दिँदा निर्भरता र स्वार्थको द्वन्द्व उत्पन्न हुने जोखिम रहन्छ। त्यसैले निश्चित ‘कूलिङ पिरियड’सहित अडिटर रोटेसन व्यवस्था लागू गरिनुपर्छ। यसले परीक्षणको निष्पक्षता कायम राख्नुका साथै संस्थागत पारदर्शिता सुदृढ गर्न मद्दत गर्छ।

५. साइबर सुरक्षा सम्बन्धी संरचित जानकारी सार्वजनिक गर्ने साइबर सुरक्षा जोखिम, अडिटबाट पहिचान भएका कमजोरी, नन–कम्प्लायन्स तथा सुधारको प्रगतिबारे संरचित र आवधिक जानकारी सार्वजनिक गरिनुपर्छ। डिजिटल पूँजी बजारमा पारदर्शिता वैकल्पिक विषय होइन; यसले लगानीकर्ताको विश्वास निर्माणमा प्रत्यक्ष योगदान पुर्याउँछ।

६. डेटा दुरुपयोगमा शून्य सहनशीलता अपनाउने डेटा दुरुपयोग, हेरफेर वा गोपनीयता उल्लङ्घन प्रमाणित भएमा कडा प्रशासनिक तथा कानुनी कारबाही हुने स्पष्ट व्यवस्था हुनुपर्छ। दण्डहीनता कायम रहँदासम्म कुनै पनि अडिट प्रभावकारी हुनसक्दैन।

७. जोखिमआधारित अडिट र सुधार अनुमोदन गर्ने अडिट प्रक्रिया जोखिमआधारित हुनुपर्छ र उच्च जोखिमयुक्त क्षेत्रहरूलाई प्राथमिकतामा राखी परीक्षण गरिनुपर्छ। साथै अडिटपछिको सुधार कार्ययोजना स्पष्ट समयसीमासहित तयार गरी त्यसको कार्यान्वयनमा नियामकले प्रत्यक्ष अनुगमन गर्नुपर्छ। अडिट प्रतिवेदन अन्तिम दस्तावेज होइन, सुधार प्रक्रियाको प्रारम्भ बिन्दु हुनुपर्छ।

निष्कर्ष

सूचना प्रणाली अडिट केवल प्राविधिक परीक्षण मात्र होइन; यो संस्थागत पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयताको परीक्षा हो। अडिट निष्पक्ष, स्वतन्त्र र स्पष्ट मापदण्डअनुसार सम्पन्न भयो भने प्रणालीमा व्यापक सुधार भई बजारमा विश्वास पुनर्स्थापित गर्न निर्णायक भूमिका खेल्नसक्छ। तर प्रक्रिया अस्पष्ट र औपचारिकतामै सीमित रह्यो भने यसले सुधार होइन, थप शंका जन्माउनेछ।

अहिलेको प्रश्न अडिट गर्नु/नगर्नु होइन; कस्तो अडिट गर्ने भन्ने हो। स्पष्ट मापदण्ड निर्धारण, प्रभावकारी नियामकीय निरीक्षण र सुधार कार्यान्वयनको प्रत्यक्ष अनुगमनद्वारा सेबोनले आफ्नो नेतृत्वदायी भूमिका सुदृढ रूपमा निर्वाह गर्नु आवश्यक छ। पूँजीबजारको दीर्घकालीन स्थायित्व, लगानीकर्ताको विश्वास र संस्थागत सुदृढीकरण त्यसैमा निर्भर गर्दछ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.