आईतवार, मंसिर १३,२०८३ 08:25:49
  • आईतवार, मंसिर १३,२०८३ 08:25:49
Global IME Bank Limited

नेपाल पुनर्बीमाको पूँजी बढाउने दौड : बजारमा सेयरको बाढी, व्यवसाय र नाफा नबढे लगानीकर्तालाई धक्का !

Bizshala
नेपाल पुनर्बीमाको पूँजी बढाउने दौड : बजारमा सेयरको बाढी, व्यवसाय र नाफा नबढे लगानीकर्तालाई धक्का !
New Office

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चुक्तापूँजी बढाउन हकप्रद सेयर निष्कासनको प्रस्ताव अघि सारेसँगै पूँजीबजारमा यसको दीर्घकालीन प्रभावबारे बहस सुरु हुने देखिएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरे पनि पूँजी वृद्धिको अनुपातमा व्यवसाय र नाफा विस्तार गर्न नसके यसको प्रत्यक्ष असर दोस्रो बजारका लगानीकर्तामा पर्न सक्ने देखिन्छ ।

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले १६.९१७६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँ सेयर लगानी गर्ने सुनिश्चितता गरेपछि कम्पनीले सोही अनुपातमा हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको हो ।

हाल कम्पनीमा नेपाल सरकारको ४४.०३९ प्रतिशत सेयर स्वामित्व छ। सरकारको स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्ने योजनाअनुसार उक्त निर्णय भएको हो।  

तर पूँजीबजारको दृष्टिकोणबाट हेर्दा यो निर्णयले केही गम्भीर प्रश्न जन्माएको छ । केही सेयर विश्लेषकहरुले कम्पनीको पूँजी बढेपछि व्यवसाय पनि त्यहिअनुरुप बढ्नेमा ग्यारेन्टी नभएको बताएका छन् । विशेषगरी विश्लेषकहरुले नाफा वृद्धिको गति सेयर संख्याको वृद्धिभन्दा बढी हुन्छ ? र नयाँ थपिने सेयरलाई दोस्रो बजारले सहज रूपमा धान्न सक्छ ? भन्ने खालका प्रश्न तेर्स्याएका छन् ।  

१६.९१ प्रतिशत हकप्रदपछि पनि पूँजीको लक्ष्य अधुरै !

हाल नेपाल पुनर्बीमाको चुक्तापूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ। प्रस्तावित १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन हुँदा कम्पनीले करिब दुई अर्ब २७ करोड रुपैयाँ थप पूँजी जुटाउनेछ ।

यसपछि कम्पनीको चुक्तापूँजी करिब १५ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

तर कम्पनीले पु¥याउनुपर्ने २० अर्ब रुपैयाँ चुक्तापूँजीको लक्ष्य भने तत्काल पूरा हुने छैन । उक्त लक्ष्य हासिल गर्न कम्पनीलाई थप करिब चार अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्नेछ ।

यसको अर्थ अहिलेको हकप्रद प्रस्ताव पूँजी वृद्धिको पहिलो चरण मात्रै हो । बाँकी पूँजी जुटाउने स्रोत र विधिबारे पनि कम्पनीले स्पष्ट रणनीति बनाउनुपर्ने देखिन्छ ।  

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

सेयर संख्या बढ्ने, तर कमाइ नबढे के हुन्छ ?

कम्पनीले चुक्तापूँजी बढाउने निर्णय गरेसँगै दोस्रो बजारमा सेयर संख्या मात्रै थपिदा यसले कम्पनीको वित्तीय अवस्था जोखिम बनाउन सक्ने विज्ञहरुको अनुमान छ । पूँजीवृद्धिको अनुपातमा कम्पनीको व्यवसाय वृद्धि हुन्छ वा हुँदैन भन्ने पूँजीबजारका लागि सबैभन्दा महत्त्वपूर्ण विषय बनेको छ ।  

कुनै पनि कम्पनीले हकप्रद सेयर जारी गर्दा उक्त कम्पनीको चुक्तापूँजीसँगै बजारमा सूचीकृत हुने सेयर संख्या बढ्छ । तर सेयर संख्या बढेकै अनुपातमा कम्पनीको नाफा नबढे प्रतिसेयर आम्दानी अर्थात् ईपीएसमा दबाब पर्छ ।

नेपाल पुनर्बीमाको सन्दर्भमा प्रस्तावित हकप्रदपछि सेयर संख्या करिब १६.९२ प्रतिशत बढ्नेछ ।

मानौँ, कम्पनीले हकप्रद जारी गर्नुअघि वार्षिक एक अर्ब रुपैयाँ खुद नाफा कमाउँथ्यो । थपिएको पूँजी परिचालनबाट अतिरिक्त आम्दानी हुन नसकी नाफा एक अर्बमै सीमित रह्यो भने प्रतिसेयर आम्दानी घट्नेछ ।

अहिलेको पूँजीका आधारमा एक अर्ब नाफाबाट प्रतिसेयर आम्दानी करिब ७ रुपैयाँ ४५ पैसा हुन्छ । हकप्रदपछि त्यही नाफामा प्रतिसेयर आम्दानी करिब ६ रुपैयाँ ३७ पैसामा झर्नेछ ।

अर्थात् कम्पनीको कुल नाफा नघट्दा पनि सेयर संख्या बढेकै कारण प्रतिसेयर आम्दानी करिब १४.५ प्रतिशत घट्न सक्छ ।

यो वास्तविक नाफाको प्रक्षेपण नभई पूँजी वृद्धिले प्रतिसेयर आम्दानीमा पार्न सक्ने प्रभाव बुझाउने उदाहरण मात्रै हो ।

कम्पनीले निर्धारित २० अर्ब रुपैयाँ चुक्तापूँजी पु¥याएपछि समेत नाफा अहिलेको स्तरमै रह्यो भने प्रतिसेयर आम्दानीमा अझ ठूलो दबाब पर्न सक्छ ।

दोस्रो बजारमा सेयरको आपूर्ति थपिने, मूल्यमा दबाब पर्न सक्ने

नेपाल पुनर्बीमाले पूँजी विस्तार गर्दै जाँदा नेप्सेमा सूचीकृत सेयर संख्या पनि उल्लेखनीय रूपमा बढ्नेछ  ।

अहिले कम्पनीको चुक्तापूँजीका आधारमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका करिब १३ करोड ४२ लाख कित्ता सेयर छन् ।

प्रस्तावित हकप्रदपछि यो संख्या करिब १५ करोड ६९ लाख कित्ता पुग्नेछ। अर्थात् करिब दुई करोड २७ लाख कित्ता नयाँ सेयर थपिनेछन् ।

कम्पनीको पूँजी २० अर्ब पुगेपछि कुल सेयर संख्या २० करोड कित्ता हुनेछ ।

तर यसरी सेयरको आपूर्ति बढ्दैमा दोस्रो बजारमा सोही अनुपातमा खरिद माग बढ्छ भन्ने निश्चित हुँदैन ।

विशेषगरी व्यवसाय, नाफा, लाभांश क्षमता र लगानीकर्ताको विश्वास कमजोर अवस्थामा रहे सेयरको बढ्दो आपूर्तिले बजार मूल्यमा दबाब सिर्जना गर्न सक्छ ।

यद्यपि सबै नयाँ सेयर तत्काल बिक्रीमा आउँछन् भन्ने होइन । सरकार तथा संस्थागत लगानीकर्ताको स्वामित्वमा रहने सेयरको प्रकृति र बिक्रीसम्बन्धी व्यवस्थाले वास्तविक कारोबारयोग्य आपूर्ति निर्धारण गर्छ ।

हकप्रदका कारण सेयर मूल्यमा हुने सैद्धान्तिक समायोजन र पछि बजारमा माग–आपूर्तिका कारण हुने मूल्य परिवर्तनलाई पनि अलग–अलग बुझ्नुपर्छ ।

पूँजी ठूलो हुँदैमा कम्पनी बलियो हुँदैन !

बीमा तथा पुनर्बीमा क्षेत्रमा पूँजीको पर्याप्तता महत्त्वपूर्ण मानिन्छ । ठूला जोखिम वहन गर्न, दाबी भुक्तानीको क्षमता सुदृढ बनाउन र अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय विस्तार गर्न पर्याप्त पूँजी आवश्यक हुन्छ ।

तर पूँजीको आकार मात्रै कम्पनीको वित्तीय स्वास्थ्य मापन गर्ने आधार होइन ।

पूँजी वृद्धिसँगै कम्पनीले पुनर्बीमा प्रिमियम आम्दानी, जोखिमको गुणस्तर, लगानीबाट हुने आम्दानी र खुद नाफामा पनि सुधार गरेमा मात्रै पूँजी वृद्धिको औचित्य हुने एक बीमा विज्ञले बताए ।  

‘कम्पनीको पूँजीवृद्धिसँगै, आम्दानी वा जोखिमको गुणस्तर त्यहि अनुपातमा  सुधार नभए  ठूलो पूँजी परिचालन गर्नुपर्ने दबाब बढ्ने सम्भावना रहन्छ’ ती विज्ञले भने, ‘यसबाट सेयर लगानीकर्ताले पाउने प्रतिफल कमजोर हुने अवस्था सिर्जना हुन सक्छ ।’

साथै नेपाल पुनर्बीमाका लागि अहिलेको मुख्य चुनौती पूँजी जुटाउनु मात्रै नभई थपिएको पूँजीलाई उत्पादनशील र नाफामूलक व्यवसायमा रूपान्तरण गर्नुपर्ने उनको तर्क छ ।  

लाभांश क्षमतामा पनि पर्न सक्छ असर !

कम्पनीको चुक्तापूँजी बढेपछि लगानीकर्ताले अपेक्षा गर्ने लाभांश रकम जुटाउन पनि ठूलो नाफा आवश्यक पर्छ ।

उदाहरणका लागि अहिलेको १३ अर्ब ४२ करोड रुपैयाँ चुक्तापूँजीमा १० प्रतिशत नगद लाभांश वितरण गर्न एक अर्ब ३४ करोड २० लाख रुपैयाँ आवश्यक पर्छ ।

तर चुक्तापूँजी २० अर्ब पुगेपछि त्यही १० प्रतिशत लाभांश वितरण गर्न दुई अर्ब रुपैयाँ आवश्यक हुनेछ ।

अर्थात् समान प्रतिशतको लाभांश निरन्तर वितरण गर्न कम्पनीले पहिलेभन्दा धेरै वितरणयोग्य नाफा आर्जन गर्नुपर्नेछ ।

त्यसैले पूँजी वृद्धिलाई मात्रै सकारात्मक संकेत मानेर लगानी निर्णय गर्नु जोखिमपूर्ण हुन सक्छ । लगानीकर्ताले भविष्यको व्यवसाय विस्तार, आम्दानीको वृद्धि, पूँजीमा प्रतिफल र लाभांश क्षमतासमेत मूल्यांकन गर्नुपर्ने हुन्छ ।

पुनर्बीमाको निर्णयले समग्र पूँजीबजारलाई पनि दिने सन्देश

नेपाल पुनर्बीमाको पूँजी वृद्धिको विषय एउटा कम्पनीमा मात्रै सीमित छैन ।

नेपालको पूँजीबजारमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनीलगायत विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरूले बोनस र हकप्रद सेयरमार्फत चुक्तापूँजी विस्तार गर्दै आएका छन् ।

तर पूँजी वृद्धिको गति र व्यवसाय विस्तारको गतिबीच सन्तुलन कायम हुन नसक्दा लगानीकर्ताले अपेक्षित प्रतिफल प्राप्त गर्न कठिन हुन सक्छ ।

पूँजीको आकार बढ्ने तर प्रतिसेयर आम्दानी कमजोर हुँदै जाने प्रवृत्तिले बजारमा आपूर्ति बढाउने र मूल्यांकनमा दबाब सिर्जना गर्ने सम्भावना रहन्छ ।

हकप्रद निष्कासनबाट कम्पनीमा नयाँ रकम भित्रिने भएकाले त्यसको प्रभाव बोनस सेयरको जस्तो मात्र हुँदैन । थपिएको रकमले आम्दानी सिर्जना गर्न सके दीर्घकालीन रूपमा लगानीकर्तालाई फाइदा पनि हुन सक्छ ।

तर कम्पनीले नयाँ पूँजी कहाँ, कसरी र कुन प्रतिफलमा परिचालन गर्ने भन्ने स्पष्ट व्यावसायिक योजना प्रस्तुत नगरे पूँजी वृद्धिको लाभ लगानीकर्तासम्म पुग्ने सुनिश्चितता हुँदैन ।

यसकारण नियामकीय पूँजीको लक्ष्य हासिल गर्ने दौडसँगै कम्पनीहरूको व्यावसायिक क्षमता, नाफाको दिगोपन र लगानीकर्ताको प्रतिफललाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने देखिन्छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.