काठमाण्डौ । इरानले युद्ध अन्त्यका लागि अघि सारेको १४ बुँदे प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेपछि दुवै देशबीचको तनाव थप बढेको छ। इरानले भने आफ्नो प्रस्ताव स्वीकार गर्नुबाहेक अमेरिकासँग अर्को विकल्प नरहेको दाबी गरेको छ।
इरानी संसदका सभामुख मोहमद बाघेर घालिबाफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी पक्षले इरानी जनताको अधिकार स्वीकार गर्नैपर्ने बताएका हुन्। उनले १४ बुँदे प्रस्तावमा उल्लेख गरिएका मागाहरू नै समाधानको एकमात्र आधार भएको उल्लेख गरेका छन्।
गालिबाफले अन्य कुनै पनि उपाय पूर्ण रूपमा असफल हुनेछ भन्दै अमेरिकाले ढिलाइ गरे अमेरिकी करदातामाथि थप आर्थिक भार पर्ने चेतावनी दिएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भएको प्रतिक्रिया दिएका थिए।
इरानी मिडियाका अनुसार पाकिस्तानमार्फत पठाइएको उक्त प्रस्तावमा तत्काल युद्धविराम, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा भविष्यमा इरानमाथि पुनः आक्रमण नगर्ने प्रत्याभूति समावेश गरिएको छ।
हालसम्म १४ बुँदे प्रस्तावको पूर्ण आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

