काठमाण्डौं । सिद्धार्थ राजमार्गअन्तर्गतको अत्यन्त जोखिमपूर्ण खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाले उल्लेखनीय प्रगति हासिल गर्दै भौतिकतर्फ ६८ प्रतिशत र वित्तीयतर्फ ५८ प्रतिशत कार्य सम्पन्न गरेको छ ।
यो आयोजना सडक पूर्वाधार क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरी दीर्घकालीन यातायात सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।
पाँच वर्ष (६० महिना) भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (EPC) मोडलमा कार्यान्वयन भइरहेको हो ।
यस मोडलमा डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी एउटै निर्माण कम्पनीलाई दिइने भएकाले कामको समन्वय र कार्यक्षमता बढ्ने अपेक्षा गरिएको छ ।
आयोजना सम्पन्न भएपछि सुरुङमार्गको सञ्चालन तथा नियमित मर्मतसम्भारको जिम्मा पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै लिनेछ ।
त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (DLP) लागू हुने व्यवस्था गरिएको छ, जसले निर्माणको गुणस्तर परीक्षण र दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
आयोजना प्रमुख राजेश पौडेलका अनुसार सुरुङमार्गलाई आगामी सेप्टेम्बरसम्म सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ ।
उनका अनुसार अहिले इलेक्ट्रो–मेकानिकल उपकरण जडान, सुरक्षा प्रणाली विस्तार तथा अन्तिम चरणका प्राविधिक कामहरू तीव्र गतिमा भइरहेको छ ।
पौडेलले प्रारम्भिक चरणमा कानूनी प्रक्रिया, प्राविधिक चुनौती, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनजस्ता समस्या देखिए पनि अहिले ती अधिकांश अवरोध समाधान हुँदै गएको बताए ।
नयाँ कार्यान्वयन मोडल भएकाले सुरुवातमा केही ढिलाइ भएपनि हाल परियोजना अपेक्षाभन्दा सहज रूपमा अघि बढिरहेको उनको भनाइ छ ।
उनले भने, “हामी सेप्टेम्बरसम्म सुरुङमार्गबाट नियमित सवारी सञ्चालन गर्ने लक्ष्यका साथ अन्तिम चरणको काममा छौँ।”
आयोजनाअन्तर्गत एप्रोच सडक (मुख्य सडक–१ र २) मा ‘रिजिड पेभमेन्ट’ गर्ने प्रक्रिया अघि बढाइएको छ ।
सुरुङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त भागमा रकसेड तथा स्लोप प्रोटेक्शन (भीर संरक्षण) संरचना थप मजबुत बनाइनेछ ।
साथै पैदल यात्रुका लागि सुरक्षित मार्ग र प्रभावकारी पानी निकास प्रणालीको व्यवस्थापन पनि गरिनेछ ।
करिब १० अर्ब रुपैयाँ अनुमान गरिएको यो आयोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता भएको हो, जसलाई लागत दक्षता र व्यवस्थापन क्षमताको उदाहरणका रूपमा लिइएको छ ।
अत्यधिक पहिरो जोखिम रहेको यस खण्डमा निर्माण भइरहेको सुरुङमार्गको मुख्य उद्देश्य केवल दूरी छोट्याउने नभई जोखिम न्यूनीकरण गर्दै सुरक्षित, भरपर्दो र दिगो यातायात सेवा उपलब्ध गराउनु रहेको आयोजनाले जनाएको छ ।

