काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे औपचारिक जानकारी गराएका छन् ।
बिहीबार अपराह्न शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको राजश्व तथा व्ययको वार्षिक अनुमानसम्बन्धी मुख्य विषय राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।
सो अवसरमा उनले संसदमा पेश गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार (जेठ १५ गते) अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका अनुसार बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने कर, राजश्व, खर्च प्राथमिकता र विभिन्न नीतिगत व्यवस्थामाथिको अन्तिम गृहकार्य जारी रहेको छ ।

