बुधबार, असार १०,२०८३ 10:51:06
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:51:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालेनको सीमा अभिव्यक्तिले भारतमा पनि तरंग, प्रमुख मिडियाले बनाए मुख्य समाचार

Laxmi Sunrise Bank Limited
बालेनको सीमा अभिव्यक्तिले भारतमा पनि तरंग, प्रमुख मिडियाले बनाए मुख्य समाचार

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिले नेपालभित्र मात्र होइन, भारतीय सञ्चारमाध्यमहरूमा समेत व्यापक चर्चा पाएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्ने धारणा राख्दै आफू प्रधानमन्त्री बनेपछि नेपालले पनि केही भारतीय भूमि अतिक्रमण गरेको विषयबारे जानकारी पाएको बताएका थिए। उनको यही अभिव्यक्तिले नेपालमा राजनीतिक तरंग पैदा गरिरहेको बेला भारतका प्रमुख सञ्चारमाध्यमहरूले पनि यसलाई प्रमुख समाचारका रूपमा प्रस्तुत गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

लामो समयदेखि प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्ने माग उठ्दै आएको थियो। विगतमा सांसदहरूले लिखित प्रश्न पठाउने र प्रधानमन्त्रीले पूर्वतयारीसहित जवाफ दिने अभ्यास रहँदै आएको थियो। तर बालेन शाहले यसपटक फरक शैली अपनाउँदै पूर्वनिर्धारित कार्यक्रमबिनै संसद्मा उपस्थित भएर सभामुखसँग समय माग्दै प्रत्यक्ष प्रश्नोत्तरमा सहभागिता जनाएका थिए।

संसद्मा सीमा विवादबारे उठेको प्रश्नको जवाफ दिने क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासँग सम्बन्धित विषयलाई संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका थिए। साथै, नेपालले मात्र होइन, नेपालतर्फबाट पनि केही सीमासम्बन्धी जटिलता रहेको विषय आफूले जिम्मेवारी सम्हालेपछि थाहा पाएको उल्लेख गरेका थिए।

प्रधानमन्त्रीको यही भनाइलाई भारतीय सञ्चारमाध्यमहरूले फरक-फरक कोणबाट प्राथमिकताका साथ प्रकाशन गरेका छन्।

भारतको चर्चित दैनिक नवभारत टाइम्स ले बालेन शाहको अभिव्यक्तिलाई उद्धृत गर्दै नेपाल–भारतबीचको सीमा विवादलाई टकरावको साटो वार्ताबाट समाधान गर्नुपर्ने उनको दृष्टिकोणलाई मुख्य विषय बनाएको छ। समाचारमा नेपालले भारत र चीनसँग मात्र होइन, बेलायतसँग समेत सीमा सम्बन्धी ऐतिहासिक विषयमा संवाद गरिरहेको उल्लेख गरिएको छ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, द प्रिन्ट ले प्रकाशित गरेको समाचारमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको र सीमा विवाद समाधानका लागि इतिहासकार, नापी विशेषज्ञ तथा प्राविधिक विज्ञहरूको सहयोग लिनुपर्ने विषय प्रधानमन्त्रीले सार्वजनिक गरेको उल्लेख छ। सो समाचारले बालेन शाहले नेपालले पनि केही भारतीय भूमि अतिक्रमण गरेको विषय स्वीकार गरेको दाबीलाई विशेष महत्व दिएको छ।

भारतको टेलिभिजन नेटवर्क न्यूज–१८ को अनलाइन संस्करणले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रमुखताका साथ स्थान दिएको छ। उक्त समाचारमा नेपाल–भारत सीमा विवादलाई भावनात्मक र राजनीतिक मुद्दा बनाउनुको साटो तथ्य र प्रमाणका आधारमा दुवै पक्ष बसेर निष्पक्ष समीक्षा गर्नुपर्ने प्रधानमन्त्रीको धारणा समेटिएको छ।

यस्तै, दैनिक भास्कर ले बालेन शाहको अभिव्यक्तिलाई उद्धृत गर्दै नेपाल र भारत दुवै पक्षबाट सीमासम्बन्धी दाबी र विवाद रहेको विषयलाई जोड दिएको छ। सो समाचारमा भारतका विभिन्न सीमावर्ती क्षेत्रमा नेपालद्वारा अतिक्रमण भएको दाबी गरिएका क्षेत्रहरूको समेत चर्चा गरिएको छ।

अर्को चर्चित भारतीय दैनिक अमर उजाला ले प्रधानमन्त्री शाहको अभिव्यक्तिले नेपालभित्र राजनीतिक तथा कूटनीतिक बहस चर्काएको उल्लेख गरेको छ। समाचारमा उनले सीमा विवादलाई मित्रवत् संवादमार्फत समाधान गर्नुपर्ने धारणा राखेको व्याख्या गरिएको छ।

प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वजनिक भएपछि नेपालभित्र भने यसको तीव्र राजनीतिक प्रतिक्रिया देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अभिलेखबाट उक्त भनाइ हटाउन माग गरिसकेको छ भने सीमाविद्हरूले पनि तथ्य र प्रमाणका आधारमा स्पष्टता दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

यद्यपि भारतीय सञ्चारमाध्यमहरूको प्रस्तुतिलाई हेर्दा बालेन शाहको भनाइलाई उनीहरूले नेपाल–भारत सीमा विवादको विषयमा आएको असामान्य र नयाँ राजनीतिक सन्देशका रूपमा लिएको देखिन्छ। विशेषगरी दुवै पक्षका दाबी र दायित्वबारे खुला रूपमा चर्चा गरेको अभिव्यक्तिलाई भारतीय मिडियाले फरक महत्वका साथ प्रस्तुत गरेका छन्।

नेपालभित्र विवादको केन्द्र बनेको यो अभिव्यक्ति अब सीमा कूटनीति, संसद् र द्विपक्षीय सम्बन्धको बहससँग जोडिएर अझै केही समय राजनीतिक एजेन्डाको केन्द्रमा रहने संकेत देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.