काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका कागजात नक्कली भएको आशंकामा मन्त्रालयका कर्मचारीको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव (कानून) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।
समितिलाई सात दिनभित्र घटनासम्बन्धी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।
वाल्मिकी विद्यापीठको नाममा पेस गरिएका पत्र तथा कागजात नक्कली देखिएपछि छानबिन अघि बढाइएको हो।
यसअघि मन्त्रालयले शंकास्पद सिफारिस रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ।
मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षपछि आवश्यक प्रशासनिक तथा कानूनी कदम चालिने जनाएको छ।

