काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको नाफामा उछाल आएको छ ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ७७ लाख २८ हजार खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा २ लाख ४७ हजार रुपैयाँमा सीमित थियो ।
अघिल्लो वर्षको यही अवधिसम्म १३ लाख ८२ हजार सञ्चालन घाटामा रहेको यो लघुवित्त समीक्षा अवधिमा भने ७९ लाख ७६ हजार सञ्चालन नाफामा गएको छ ।
सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याएको रकमबाट ४३ लाख हाराहारीमा राइटब्याक गर्दा कम्पनीको नाफामा उछालको अवस्था देखिएको हो ।
समीक्षा अवधिमा यो लघुवित्तले २ करोड ८९ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २ करोड २४ लाख रुपैयाँमा सीमित थियो ।
कम्पनीले विषम अवस्थामा समेत खराब कर्जाको अनुपात घटाउने सफलता पाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म ४.२७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ३.७५ प्रतिशतमा सीमित भएको देखिएको छ ।
समीक्षा अवधिमा यो लघुवित्तको प्रतिसेयर आम्दानी(वार्षिकीकृत) १५.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.६० गुणा, प्रतिसेयर नेटवर्थ १२९.६७ रुपैयाँ र तरलता अनुपात ८.२४ प्रतिशत रहेको छ ।