काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन ०.७६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।
विवरण अनुसार चैत महिनासम्ममा बजारमा ६ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत फागुन महिनाको तुलनामा ०.७६ प्रतिशतले मात्रै बढी हो । फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।
चैत महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ खर्ब ९७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । जुन फागुन महिनाको तुलनामा ३२.०९ प्रतिशतले बढी हो । फागुन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब २५ अर्ब ४३ करोड रुपैयाँ थियो ।
यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप पनि बढेको छ । फागुन महिनासम्म १ खर्ब ७८ अर्ब सरकारी निक्षेप रहेकोमा चैतसम्म बढेर २ खर्ब ८६ अर्ब पुगेको छ ।
चैत महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ८५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् ।
फागुन महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति १ खर्ब ६ अर्ब रुपैयाँबराबर र कुल स्वदेशी दायित्व १२ खर्ब ८१ अर्ब रुपैयाँबराबर रहेको छ ।
यस्तै कुल विदेशी मुद्रा सम्पत्ति १७ खर्ब ९९ अर्ब र कुल विदेशी मुद्रा दायित्व ४६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।