काठमाण्डौ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तर कडाइ गरिरहेको छ।
पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा दुई हजार ४३८ सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा गरिएको कारबाहीबाट राज्यकोषमा कुल २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन ९मापसे० गरेर सवारीसाधन चलाउने ८५ जना सवारीचालक कारबाहीमा परेका छन्।
त्यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गर्ने १३० जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२३ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १६० जनामाथि पनि कारबाही गरिएको छ।
यसैगरी, तोकिएको लेन अनुशासन पालना नगर्ने १२२ जना, निषेधित क्षेत्रमा अनावश्यक हर्न बजाउने ८८ जना र लागुपदार्थ सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने तीन जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
निर्धारित मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने २७ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको छ।
यस्तै, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०० जना सवारीचालकलाई समेत कानूनअनुसार कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षाको प्रवर्द्धन तथा ट्राफिक अनुशासन कायम गर्न नियमित रूपमा निगरानी, जाँच र कारबाही अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक तथा लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन र सडक सुरक्षाप्रति जिम्मेवार बन्न पनि कार्यालयले आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।