काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ६६ सवारीचालक कारबाहीमा परेका छन्। उनीहरूबाट राज्यकोषमा कुल १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व दाखिला भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सबैभन्दा बढी कारबाही अन्य सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको छ। यसअन्तर्गत १ हजार २३७ जना कारबाहीमा परेका छन्।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने १४२ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२२ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने १२० जना र तीव्र गतिमा सवारी चलाउने ११४ जना रहेका छन्।
यसैगरी मादकपदार्थ सेवन गरी सवारी चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७४ जना, सडकपेटीमा पार्किङ गर्ने १०३ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ८९ जना चालकलाई पनि कारबाही गरिएको छ।

