काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराएका थिए। साथै, उनले सभामुख अर्यालसहित नेपाली सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निम्तो दिएका छन्।
सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरेका थिए।
नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै सभामुख अर्यालले व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटी लगायतका क्षेत्रमा रहेका द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए।
उनले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको पनि उल्लेख गरे। नागरिक उड्डयन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले आपसी सम्बन्ध अझ मजबुत हुने भन्दै सभामुख अर्यालले भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गरे।
सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिइसकेको जानकारी दिँदै दुवै पक्षलाई उपयुक्त समयमा नेपालमा स्वागत गर्न आफू तत्पर रहेको बताए।
उनले भारतको संसदलाई लोकतन्त्रको दृढ संरक्षकका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गरे। भारतको संसदले आफ्नो गौरवपूर्ण इतिहासमा लोकतान्त्रिक मूल्य, मान्यता र अभ्यासको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सभामुख अर्यालको भनाइ थियो।
सभामुख अर्यालले नयाँ प्रतिनिधिसभाको गठनपछि विपिन आचार्यको नेतृत्वमा १० सदस्यीय नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै उक्त समूहले अन्तर–संसदीय सहयोगलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।
उनका अनुसार संसदीय कूटनीतिले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले दुवै देशका सांसदहरूबीच आपसी समझदारी, अनुभव आदानप्रदान तथा एकअर्काका प्राथमिकता र आकांक्षाप्रति सम्मान अभिवृद्धि गर्ने सभामुख अर्यालको भनाइ थियो।
सभामुख अर्यालले भारतले संसदीय प्रक्रियाको प्रभावकारिता, पारदर्शिता र पहुँच अभिवृद्धिका लागि डिजिटल समाधान तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ लगायतका प्रविधिमैत्री अभ्यास अवलम्बन गरेकोमा प्रशंसा व्यक्त गरे। उनले भारतको डिजिटल संसदीय प्रणाली, कागजरहित कार्यप्रणाली तथा प्रविधिमैत्री विधायी अभ्यासबाट नेपालले ज्ञान आदानप्रदान गर्न चाहेको बताए।
नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै सभामुख अर्यालले नेपालको विकास प्रयासमा भारतको निरन्तर सद्भावना र सहयोग महत्त्वपूर्ण रहेको बताए।
राजदूत श्रीवास्तवले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबीचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका थिए।

