काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
तथ्यांकअनुसार २० बैंकमध्ये १४ वटा बैंकको नाफा बढेको छ भने ६ वटा बैंकको नाफा घटेको छ ।
सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले ३२.५२ प्रतिशतले नाफा बढाउँदै ११ महिनामा ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले ५ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ । नाफा वृद्धिदरका आधारमा भने कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा रहेका छन् । कुमारी बैंकको नाफा ११६८ प्रतिशतले बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८ प्रतिशतले वृद्धि भई ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

अन्य बैंकहरूको विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकको नाफा २ प्रतिशतले घटेर ४ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । प्राइम कमर्सियल बैंकले २९ प्रतिशतले नाफा बढाउँदै ३ अर्ब ७४ करोड रुपैयाँ कमाएको छ भने एनएमबी बैंकको नाफा १९.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। नेपाल बैंकको नाफा पनि ८ प्रतिशतले वृद्धि भई ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

