काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा बुधबार काठमाण्डौको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत गरिएका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका छन्।
सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यस्तै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ। सम्बन्धित निकायको स्वीकृति लिएपछि बोनस शेयर जारी गरिने र त्यसपछि कम्पनीको जारी तथा चुक्तापूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार २०८३ साल जेठ मसान्तसम्म शाखा, उपशाखा, तेस्रो पक्ष बीमा काउन्टर तथा प्रादेशिक कार्यालयहरूको समायोजन गरी प्रधान कार्यालयसहित कुल १०४ वटा शाखा तथा उपशाखा र तेस्रो पक्ष बीमा काउन्टरमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा सेयरधनीलाई अपेक्षित प्रतिफल प्रदान गर्ने तथा निर्धारित लक्ष्य हासिल गर्ने उद्देश्यसहित आफ्ना गतिविधिहरूलाई थप प्रभावकारी बनाउने जनाएको छ।

