काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकास्थित आफ्नो उपभोक्ता इलेक्ट्रोनिक्स, मोबाइल र डिस्प्ले व्यवसायमा कर्मचारी कटौती गरेको छ। कम्पनीको यस कार्यबाट मुख्य रूपमा न्यु जर्सी र टेक्सासमा रहेका कर्मचारीहरू यसबाट प्रभावित भएका छन्।
कम्पनीका अनुसार अमेरिकास्थित सामसुङ इलेक्ट्रोनिक्सले न्यु जर्सीको एङ्गलवुड क्लिफ्सबाट टेक्सासमा मुख्यालय सार्ने योजनाअन्तर्गत ७३९ वटा पद प्रभावित हुने जनाएको छ। प्रभावित अधिकांश कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव दिइएको भए पनि केही कर्मचारीलाई सेवाबाट हटाइएको कम्पनीले जनाएको छ।
टेक्सासको प्लानो कार्यालयमा मोबाइल डिभिजनसहित करिब १०० कर्मचारीलाई हटाइएको जनाइएको छ ।
मुख्यालय स्थानान्तरणसँग सम्बन्धित यी कटौतीले सामसुङभित्रको व्यवसायिक अवस्थाको फरक चित्र देखाएको छ। कम्पनीको चिप व्यवसाय एआईसम्बन्धी मागका कारण उच्च नाफातर्फ अघि बढिरहेको भए पनि उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसाय भने बढ्दो चिप लागत र कडा प्रतिस्पर्धाका कारण दबाबमा परेको छ।
सामसुङले न्यु जर्सीस्थित कर्मचारीहरूलाई नयाँ कार्यालयमा सारिएको एक वर्ष पनि नपुग्दै मुख्यालय स्थानान्तरणको निर्णय गरेको हो। न्यु जर्सीमा कम्पनीका करिब १२ सय कर्मचारी कार्यरत रहेको बताइएको छ।
लिङ्क्डइनमा सार्वजनिक भएका विवरणअनुसार पछिल्ला केही सातामा न्यु जर्सी, टेक्सास तथा अमेरिकाका अन्य स्थानमा कार्यरत ३० भन्दा बढी कर्मचारीले आफूहरूले कम्पनी छोडेको वा हटाइएको बताएका छन्।
सामसुङले मुख्यालय स्थानान्तरणका कारण केही कर्मचारी संरचनामा परिवर्तन हुन सक्ने जनाएको छ। कम्पनीका अनुसार स्थानान्तरण गर्न नसक्ने कर्मचारी वा व्यवसायिक प्राथमिकताअनुसार केही भूमिकामा पुनर्संरचना हुन सक्छ।
सामसुङले एआई चिपको उच्च मागका कारण दोस्रो त्रैमासिक नाफा करिब १९ गुणासम्म बढ्न सक्ने संकेत दिएको छ। कम्पनीले गत महिना नयाँ चिप उत्पादन केन्द्रहरूमा ठूलो लगानी गर्ने योजना पनि सार्वजनिक गरेको थियो।
तर मोबाइल व्यवसाय भने एप्पललगायत प्रतिस्पर्धी कम्पनीहरूको दबाबमा परेको छ। टेलिभिजन र घरेलु उपकरण क्षेत्रमा चिनियाँ कम्पनीहरू टीसीएल टेक्नोलोजी र हाईसेन्सले पनि सामसुङलाई चुनौती दिइरहेका छन्।
एआई प्रविधिको विस्तारसँगै चिपको मूल्य बढ्दा सामसुङका उपभोक्ता उत्पादन व्यवसायको आम्दानीमा असर परेको बताइएको छ।
सामसुङको कर्मचारी कटौती विश्वका अन्य ठूला प्रविधि कम्पनीहरूले एआई पूर्वाधारमा लगानी बढाउँदै गर्दा गरेको रोजगारी कटौतीसँग मिल्दोजुल्दो देखिएको छ। माइक्रोसफ्ट,अमेजन र मेटा प्लेटफर्म लगायत कम्पनीहरूले पनि पछिल्ला वर्षहरूमा कर्मचारी संख्या घटाएका छन्।
सामसुङले टेक्सासमा मुख्यालय सार्ने निर्णय पनि गरेको छ, जहाँ कम कर र व्यवसायमैत्री नीतिका कारण धेरै प्रविधि कम्पनीहरू आकर्षित भएका छन्। टेक्सासमै सामसुङका चिप उत्पादन केन्द्र र प्लानोस्थित मोबाइल हब पनि रहेका छन्।
कम्पनीका केही कर्मचारीहरूले हालको कटौतीपछि थप रोजगारी कटौती हुन सक्ने र घरेलु उपकरण, होम इन्टरटेनमेन्ट तथा मोबाइल व्यवसायलाई एकीकृत गर्न सकिने चिन्ता व्यक्त गरेका छन्। तर सामसुङले उपभोक्ता उत्पादन व्यवसायमा विश्वव्यापी रूपमा ठूलो पुनर्संरचना भइरहेको नरहेको स्पष्ट पारेको छ।
कम्पनीका अनुसार मुख्यालय स्थानान्तरणको उद्देश्य प्रविधि र एआई क्षेत्रमा सहकार्य बढाउनु तथा संगठनलाई अझ प्रभावकारी बनाउनु हो।
सन् २०२५ को अन्त्यसम्म सामसुङ इलेक्ट्रोनिक्सका अमेरिकामा चिप व्यवसायसहित करिब ११ हजार ७७० कर्मचारी रहेका थिए।

