काठमाण्डौ । स्थिर राजनीतिक वातावरणका बाबजुद सेयर बजार लगातार ओरालो लागेपछि पूँजी बजारसँग सम्बन्धित सरोकारवालाले सरकारसँग तत्काल नीतिगत तथा कानुनी सुधारको माग गरेका छन्। प्रधानमन्त्रीसँग भएको करिब डेढ घण्टाको छलफलमा उनीहरूले बजारमा विश्वास फर्काउने, लगानीकर्ता संरक्षण गर्ने र तरलता बढाउने उपायहरू अविलम्ब लागू गर्न आग्रह गरेका हुन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार छलफलमा प्राथमिक निष्कासन (आईपीओ) देखि दोस्रो बजारसम्मका व्यवस्थामा व्यापक सुधार, संस्थागत लगानीकर्ताको भूमिका विस्तार, कर प्रणाली पुनरावलोकन तथा विदेशी लगानी आकर्षित गर्ने नीतिमा जोड दिइएको थियो।
सरोकारवालाले योग्य संस्थागत लगानीकर्ताका लागि प्राथमिक निष्कासनमा ४० प्रतिशतसम्म कोटा छुट्याउने, बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा दोस्रो बजारमा मूल्य निर्धारण प्रणालीलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउनुपर्ने प्रस्ताव राखेका छन्। साथै, सूचीकृत कम्पनीका संस्थापक तथा प्रवर्द्धक शेयर कारोबारसम्बन्धी विद्यमान व्यवस्थामा पनि सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ।
बजारमा तरलता अभिवृद्धिका लागि इन्ट्रा–डे कारोबार, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ , सेक्युरिटिज नेट सेटलमेन्ट तथा व्यवस्थित सर्ट सेलिङ प्रणाली कार्यान्वयन गर्नुपर्ने माग पनि प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको ढकालले बताए।
भेटमा पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्था पुनर्विचार गर्नुपर्ने विषय पनि उठाइएको थियो। सरोकारवालाले नाफा–नोक्सान समायोजनपछि वास्तविक नाफामा मात्र कर लगाउने व्यवस्था लागू गर्नुपर्ने सुझाव दिएका छन्।
त्यसैगरी, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश सहज बनाउने, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनर्संरचना गर्ने विषयमा समेत छलफल भएको थियो।
छलफलका क्रममा प्रधानमन्त्रीले सरकार निजी क्षेत्रप्रति सकारात्मक रहेको र लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए। ‘सरकार लगानीकर्ताको पक्षमा छ, ढुक्क भएर लगानी गर्नुहोस्। निजी क्षेत्रलाई सरकारले सहयोग गर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ढकालले बताए।
यस्तै शाहले बजार चलायमान बनाउनको लागि सरकार प्रतिबद्ध रहेको बताएको ढकालले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरू सहभागी थिए।

