काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । बैंकले आजदेखि कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रको बिक्री आवेदन खुला गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र जारी गरेको हो।
निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
१० वर्ष अवधिको यो ऋणपत्रको ब्याजरदर ७ प्रतिशत रहनेछ ।
लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। यो ऋणपत्र निष्कासन छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि बन्द हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

