काठमाण्डौ। सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको १६ औं वार्षिक साधारण सभा आज बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा सभा आयोजना हुन लागेको हो ।
उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरिनेछ । कम्पनी गत चैत २० गते बसेको सञ्चालक समितिले चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो । प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँबराबरको १०.२५ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँबराबरको बोनस सेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।
यसका साथै, सभामा बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको भिन्न अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा प्रस्तावित बोनस सेयर वितरण पश्चात हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्तापूँजी वृद्धि ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ । उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने र सूर्यज्योति लाइफ इन्स्योरेन्स तथा साविकको ज्योति लाइफबाट संस्थागत उत्तरदायित्व अन्तर्गत भएको खर्चलाई अनुमोदन गरिनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी साविकको ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०७९ पुस ६ गतेको वासलात र सोहि मितिमा समाप्त भएको आव २०७९/८० को पुस ६ गतेको नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा सूर्यज्योति लाइफको लेखापरीक्षकको प्रविवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीलाई अनुमोदन गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले गत वैशाख ७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                