काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई पुनः गतिशील बनाउन र निजी क्षेत्रको घटेको आत्मविश्वास फर्काउन सरकार बैंकिङ क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको दिशा तय भइसकेको भन्दै अब मुख्य चुनौती प्रभावकारी कार्यान्वयन रहेको बताए।
अर्थमन्त्रीले बजारको वास्तविक अवस्था र निजी क्षेत्रको मनोविज्ञानबारे बैंकिङ क्षेत्र प्रत्यक्ष जानकार हुने भएकाले बजेट कार्यान्वयन तथा आर्थिक समस्या समाधानका लागि बैंकरहरूको सुझाव महत्वपूर्ण हुने धारणा राखे।
छलफलका क्रममा उनले बैंकिङ क्षेत्रमा देखिएको तरलता र कर्जा विस्तारको अवस्थाबीचको असन्तुलनप्रति चासो व्यक्त गरे। ब्याजदर न्यून स्तरमा रहँदा र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदासमेत कर्जाको माग बढ्न नसक्नु तथा लगानी विस्तारमा व्यवसायीहरू हिचकिचाउनु चुनौतीपूर्ण विषय भएको उनको भनाइ थियो।
‘सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमन हुने निकायको मात्र होइन, साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो,’ वाग्लेले भने। आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सरकार तथा बैंकिङ क्षेत्रका साझा लक्ष्य रहेको उनले बताए।
उनले कानूनी तथा प्रक्रियागत सुधार आवश्यक देखिएका क्षेत्रमा सरकारले निर्णय लिन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे। निजी क्षेत्रको लगानी वातावरण सुधार गर्न नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। छलफल समस्या पहिचानमा मात्र सीमित नरहने भन्दै उनले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबाट प्राप्त सुझावलाई कार्यान्वयनयोग्य योजनामा रूपान्तरण गरिने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।