काठमाण्डौ । विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा प्रहरीले गरेको छापा प्रकरणमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग स्पष्टीकरण माग गरिएको छ।
प्रदेश प्रहरी कार्यालयले एसपी कटवाललाई ९ बुँदे प्रश्नसहित २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयका तर्फबाट एसएसपी योगेन्द्रसिंह थापाले हस्ताक्षर गरेको पत्रमा जिम्मेवारी निर्वाह, अधिकार प्रयोग, निर्णय प्रक्रिया र व्यवसायिक आचरणसँग सम्बन्धित विषयमा स्पष्ट पार्न भनिएको छ।
मुन्दडाको घरमा करिब ५ घण्टासम्म गरिएको छानबिनका क्रममा कुनै शंकास्पद वस्तु वा प्रमाण नभेटिएको भन्दै उक्त प्रहरी कारबाहीको औचित्यमाथि प्रश्न उठेपछि स्पष्टीकरण माग गरिएको हो।
प्रहरी प्रधान कार्यालयले एसपी कटवालसँग घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाको आधारमा गरिएको हो भन्ने प्रश्न गरेको छ। त्यस्तै, छापा कारबाहीका क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा पनि जवाफ मागिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।