काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई सुन तस्कर तथा दलालको आर्थिक प्रलोभनमा नपर्न आग्रह गरेको छ।
कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति वा कामदार भिसामा काम गरेर फर्किने नेपालीलाई अपरिचित व्यक्ति तथा दलालहरूले सुन, बहुमूल्य धातु र अन्य सामान नेपाल पुर्याइदिन लगाउने प्रवृत्ति बढेको जनाएको छ।
सामान नेपाल पुर्याइदिएबापत पैसा दिने प्रलोभन देखाइने भए पनि विमानस्थलमा हुने सुरक्षा तथा भन्सार जाँचका क्रममा त्यस्ता वस्तु अवैध भेटिएमा सामान बोक्ने व्यक्ति नै पक्राउ पर्ने कार्यालयले सचेत गराएको छ।
अवैध सुन ओसारपसारको अभियोगमा पक्राउ परेपछि कानुनी कारबाही र आर्थिक क्षतिसमेत व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अपरिचित व्यक्तिले दिएको कुनै पनि सामान आफ्नो जिम्मामा नलिन आग्रह गरिएको छ।
कार्यालयले अरूको झोला, प्याकेट, सुनको सिक्री वा बहुमूल्य धातु त्यसको वास्तविक विवरण नबुझी नेपाल नल्याउन अनुरोध गरेको छ। सामानसँग खरिद बिल वा अन्य कागजात भएकै आधारमा कानुनी जिम्मेवारीबाट उन्मुक्ति पाइन्छ भन्ने भ्रममा नपर्न पनि सचेत गराइएको छ।
सानो आर्थिक लाभको लोभ वा सामान्य लापरवाहीले गम्भीर कानुनी समस्या निम्त्याउन सक्ने भन्दै विमानस्थल प्रहरीले सबै यात्रुलाई आफ्नै सामानबारे पूर्ण जानकारी राख्न आग्रह गरेको छ।
विमानस्थल वा विदेशस्थित प्रस्थानस्थलमा कुनै शंकास्पद व्यक्ति, प्रस्ताव वा गतिविधि देखिएमा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउनसमेत कार्यालयले अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।