काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ३६५.८५ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २१ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २५.९० प्रतिशतले धेरै हो ।
संस्थाको खुद सञ्चालन आम्दानी पनि ३६.८५ प्रतिशतले बढेर २६ करोड २८ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि ४ करोड १४ लाख र अन्य सञ्चालनका लागि १ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ ।
संस्थाको रिटेन्ड अर्निङ ७८ लाख ६२ हजार र रिजर्भको आकार १७ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब २८ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा २ करोड १९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै कर्जा प्रवाह पनि ५ अर्ब ८ करोड रुपैयाँबाट बढेर ५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
इम्पेयरमेन्ट चार्जका लागि ७२ लाख ३१ हजार रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात भने बढेको छ । संस्थाको खराब कर्जा अनुपात ३.७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि ह्वात्तै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ८.१८ प्रतिशतमा सीमित रहेको ईपीएस बढेर ३३.१७ रुपैयाँ कायम भएको छ ।
यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १४८.०८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२३.०९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३४.४२ गुणा र तरलता अनुपात ६.१० प्रतिशत कायम भएको छ ।