काठमाण्डौ । उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ। ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्या समाधान गर्न मन्त्रालय, निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित विशेष संयन्त्र निर्माण गरिएको हो।
क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
निगमका अनुसार देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा टोलीले तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्नेछ।
ग्यास आपूर्तिसम्बन्धी उपभोक्ताबाट प्राप्त हुने गुनासोलाई प्राथमिकतामा राख्दै निगमको हटलाइनमार्फत सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म सहज रूपमा ग्यास पुर्याउने व्यवस्था मिलाइने जनाइएको छ।
पछिल्लो समय बजारमा देखिएको ग्यास अभावका कारण उपभोक्ता लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था सिर्जना भएपछि समस्या समाधानका लागि उक्त संयन्त्र गठन गरिएको निगमले जनाएको छ। टोलीले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई तत्काल सम्बोधन गर्ने गरी कार्यविधि तयार गरेको छ।
एलपी ग्यास आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्।
हटलाइनमार्फत प्राप्त सूचनाका आधारमा क्विक रेस्पोन्स टिमले आवश्यक पहल गरी बजारमा ग्यास आपूर्ति सहज बनाउने निगमको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।