काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपाका खगराज भट्टले प्रदेशको नेतृत्व सम्हाल्दा खुसीसँगै ठूलो जिम्मेवारी र चुनौतीको अनुभूति भएको बताएका छन्।
नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नियुक्तिपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भट्टले सुदूरपश्चिमका करिब २७ लाख नागरिकको नेतृत्व गर्ने अवसर पाउनु आफ्नो लागि महत्वपूर्ण जिम्मेवारी भएको बताए।
उनले मुख्यमन्त्री बनेकोमा खुसी भए पनि त्यसभन्दा बढी जिम्मेवारीबोध र चुनौतीको दबाब महसुस भइरहेको बताए।
‘म खुसी छु, तर खुसीभन्दा बढी जिम्मेवारीबोध भएको छ। चुनौतीको भारीले थिचिएको अनुभूति पनि सँगसँगै भइरहेको छ,’ उनले भने।
मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा सुदूरपश्चिमका नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए। ठूला र अवास्तविक आश्वासन दिनुभन्दा जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी राम्रो काम गर्ने प्रयास आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो।
‘धेरै चमत्कार त सम्भव हुँदैन। जे गर्नेछु, राम्रो गर्नेछु। मान्छेले राम्रो गर्यो भन्ने अनुभूति गर्न सकून् भन्ने प्रयास गर्नेछु,’ उनले भने।
भट्टको नियुक्तिसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।