शुक्रबार, श्रावण २९,२०८३ 04:05:52
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 04:05:52
Bizshala
Global IME Bank Limited

व्यावसायिक संस्थामा राजनीति नगरौँ – सभामुख अर्याल

Prabhu Bank Limited
व्यावसायिक संस्थामा राजनीति नगरौँ – सभामुख अर्याल
New Office

काठमाण्डौ । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थालाई राजनीतिक गतिविधि र स्वार्थबाट टाढा राख्न सुझाव दिएका छन्।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टाजस्ता व्यावसायिक संस्थाले पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवर्द्धन र सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

“यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ। पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,” उनले भने।

उनले पर्यटन क्षेत्रको विकासका लागि सबैभन्दा पहिले पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षा सुनिश्चित भएपछि सेवा, सुविधा र मानिसको व्यवहारले पर्यटक आकर्षित गर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए। आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र पर्यटन क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

उनले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए। अहिले उपलब्ध बसपार्क तथा संरचनाको प्रभावकारी उपयोग गर्दै निश्चित स्थानमा पर्यटक बसका लागि व्यवस्थित पार्किङ तथा आवागमनको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।

CG Motors

पर्यटन कानुन ५० वर्षको सोचसहित बनाउनुपर्ने

पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमाथि पर्याप्त छलफल र बहस आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले तत्कालीन आवश्यकता मात्र नभई आगामी ५० वर्षलाई हेरेर दीर्घकालीन कानुन निर्माण गर्नुपर्ने बताए।

पर्यटन व्यवसायमा नयाँ पुस्ता र विशेषगरी व्यवसायीको दोस्रो पुस्तालाई आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।

नेपाल वायुसेवा निगमको विषयमा बोल्दै सभामुख अर्यालले हालकै संरचनाबाट निगमलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन कठिन हुने बताए।

“नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,” उनले भने।

विश्वका विभिन्न वायुसेवा कम्पनी नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले व्यक्तिगत लाभभन्दा राष्ट्रिय हित र पर्यटन विकासलाई प्राथमिकता दिएर निर्णय गर्नुपर्ने बताए।

ईयूको एयर सेफ्टी लिस्टबाट हट्न जोड

नेपालको पर्यटन विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको सभामुख अर्यालको भनाइ थियो। त्यसका लागि सरकारसँगै पर्यटन व्यवसायी र अन्य सरोकारवालाले पनि सक्रिय भूमिका खेल्नुपर्ने उनले बताए।

सभामुख अर्यालले नेपाली र विदेशी पर्यटकबीच सेवामा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गरे।

“होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उनले भने।

हवाई टिकटदेखि होटल तथा अन्य पर्यटन सेवामा नेपाली र विदेशी पर्यटकलाई समान व्यवहार हुनुपर्ने उनको भनाइ थियो।

नाथम बलियो बनाउनुपर्ने

सभामुख अर्यालले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई थप व्यवस्थित, सुविधा सम्पन्न र प्रभावकारी बनाउनुपर्ने बताए। नाथमसम्बन्धी नयाँ कानुन निर्माणको बहस चलिरहेका बेला पर्यटन क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा यसको क्षमता विस्तार गर्नुपर्ने उनको सुझाव थियो।

उनले भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन र उपयोगका विषयमा समेत गम्भीर बहस आवश्यक रहेको बताए।

पछिल्लो निर्वाचनबाट जनताले सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै सभामुख अर्यालले अब सरकारलाई असफल हुने छुट नरहेको बताए।

“मुलुक समृद्ध हुनैपर्छ। सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,” उनले भने।

पर्यटन क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न नीतिगत स्थिरता, पूर्वाधार सुधार, सुरक्षित सेवा, दक्ष जनशक्ति र सरकार–निजी क्षेत्रबीच परिणाममुखी सहकार्य आवश्यक रहेको सभामुख अर्यालको भनाइ थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X