काठमाण्डौ । अस्ट्रेलियाको बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ। जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर जुलाईमा ०.१ प्रतिशत बिन्दुले बढेको हो। एबीसी न्युज अस्ट्रेलियाका अनुसार ट्रेन्ड तथ्यांकका आधारमा यो कोभिड–१९ महामारीपछिको अवधिकै उच्च बेरोजगारी दर हो।
जुलाईमा रोजगारीमा रहेका मानिसको संख्या १५ हजार ८०० ले घटेको छ। रोजगारीमा आएको गिरावट मुख्यतः आंशिक समयको रोजगारीमा भएको उल्लेखनीय कमीका कारण भएको हो। यसै अवधिमा बेरोजगार मानिसको संख्या ४ हजार २०० ले बढेको छ।
अर्थशास्त्रीहरूका अनुसार बेरोजगारीमा भएको यो वृद्धि आगामी एक वर्षमा आर्थिक गतिविधि क्रमशः सुस्त हुने रिजर्भ बैंक अफ अस्ट्रेलियाको अपेक्षासँग मेल खान्छ। पछिल्लो रोजगारी तथ्यांकले आगामी दिनमा थप ब्याजदर वृद्धि हुने सम्भावनासमेत घटाएको विश्लेषण गरिएको छ।
रोजगारी बजारमा आएको कमजोरीसँगै घरजग्गाको मूल्यवृद्धि सुस्त हुनु र जुन त्रैमासिकको मुद्रास्फीति अपेक्षाभन्दा कम रहनुले सेप्टेम्बरको अन्त्यतिर हुने बैठकमा ब्याजदर यथावत् राख्न थप आधार दिएको बताइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।