काठमाण्डौ । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक अभियान सुरु गर्न लागेको दाबी गरेका छन्।
बेसन्टले सोमबार बिहान सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य क्षमता कमजोर बनाइसकेको र अब आर्थिक मोर्चामा ठूलो अभियान अघि बढाइने बताएका हुन्।
बेसन्टले आफ्नो पोस्टमा ट्रम्पले इरानका करिब १०० प्रतिशत सैन्य कारखाना नष्ट गरेको र उसको आणविक कार्यक्रम समाप्त गरेको दाबी गरेका छन्। उनका अनुसार अब अभियानको ‘अन्तिम चरण’ सुरु हुँदैछ।
उनले लेखेका छन्, ‘अब हामी अन्तिम चरणमा पुगिरहेका छौँ। बिहानदेखि आर्थिक मोर्चामा ठूलो अभियान सुरु हुनेछ—कुनै पनि विरोधीविरुद्ध अहिलेसम्म गरिएको सबैभन्दा ठूलो आर्थिक हमला।’
बेसन्टले इरानी शासनले सुरक्षा सुनिश्चित गर्ने नाममा धम्की र दबाबको सहारा लिएर आफूलाई टिकाउँदै आएको आरोपसमेत लगाएका छन्। उनका अनुसार इरानले अमेरिकाले कारबाही गरेमा जवाफी हमला गर्न सक्ने र वार्तामार्फत अमेरिकी कदम रोक्न सकिने विश्वास गर्दै आएको थियो।
उनले ट्रम्प राष्ट्रपति बनेपछि यस्तो अवस्था अन्त्य भएको दाबी गर्दै अमेरिकालाई चुनौती दिनेहरूले त्यसको मूल्य कम आँक्न नहुने चेतावनी दिएका छन्।
अमेरिकी अर्थमन्त्रीका अनुसार ट्रम्प प्रशासनले उपलब्ध सबै कानुनी अधिकार, सरकारी निकाय र अन्य उपाय प्रयोग गरेर इरानी शासनलाई आर्थिक रूपमा सहयोग गर्ने सबै बाटो बन्द गर्ने लक्ष्य राखेको छ।
यद्यपि, बेसन्टले आफ्नो एक्स पोस्टमा अमेरिकाले इरानविरुद्ध वास्तवमा कुन–कुन आर्थिक कदम चाल्न लागेको हो भन्नेबारे कुनै ठोस विवरण दिएका छैनन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।