काठमाण्डौ । इरानी रियाल सोमबार अनौपचारिक बजारमा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ। रियालको मूल्य एक अमेरिकी डलर बराबर २० लाख रियालभन्दा माथि पुगेको हो।
केन्द्रीय बैंकको आधिकारिक विनिमय दर भने प्रतिडलर करिब १५ लाख रियालको आसपास रहेको छ। पछिल्ला केही दिनयता रियाल तीव्र रूपमा कमजोर हुँदै आएको छ। गत साता प्रतिडलर करिब १८ लाख ६० हजार रियालमा कारोबार भएको र सात दिनभन्दा कम अवधिमै यसको मूल्यमा ७ प्रतिशतभन्दा बढी गिरावट आएको जनाइएको छ।
इरानमा दैनिक कारोबारमा प्रयोग हुने ‘तोमान’अनुसार एक तोमान १० रियाल बराबर हुन्छ। यससँगै अमेरिकी डलरको मूल्य पहिलोपटक २ लाख तोमान नाघेको छ।
इरानी मुद्राको लगातार कमजोर प्रदर्शन दशकौँदेखि जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध, उच्च मुद्रास्फीति र नकारात्मक आर्थिक वृद्धिको परिणामका रूपमा देखिएको छ। पछिल्ला वर्षहरूमा इरान–इजरायल द्वन्द्व, आर्थिक समस्याविरुद्ध भएका प्रदर्शन तथा अमेरिका र इजरायलसँग जारी युद्धका कारण आर्थिक दबाब थप बढेको छ।
कमजोर मुद्राको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा पनि परेको छ। विशेषगरी खाद्यान्नको मूल्य तीव्र रूपमा बढेको छ। यस वर्ष इरानको मुद्रास्फीति दर ७० प्रतिशतसम्म पुग्न सक्ने र अर्थतन्त्र ५ प्रतिशतभन्दा बढीले संकुचित हुने प्रक्षेपण गरिएको छ।
रियाल कमजोर भइरहेका बेला अमेरिकाले इरानमाथि थप कडा आर्थिक कदम चाल्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानविरुद्धको आगामी आर्थिक कारबाहीलाई ‘आर्थिक डी–डे’को संज्ञा दिएका छन्।
बेसन्टका अनुसार अमेरिकी रणनीतिको उद्देश्य इरानी सरकारलाई टिकाइराख्ने आर्थिक आधार कमजोर बनाउँदै उसलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउनु हो। अमेरिकी प्रशासनले सोमबार नै इरानमाथि थप आर्थिक प्रतिबन्ध घोषणा गर्ने अपेक्षा गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावित कदमलाई ठूलो सैन्य कारबाही नगरी इरानी शासनमाथि दबाब बढाउने उद्देश्यसहितको ‘क्रसिङ आर्थिक अपरेसन’का रूपमा प्रस्तुत गरेका छन्।
अमेरिकाले इरानमाथि यसअघि लागू गर्दै आएको ‘अधिकतम दबाब’ नीतिलाई थप कडा बनाउने तयारी गरेको छ। यसअन्तर्गत तेल कारोबारसँग सम्बन्धित छुटहरू हटाउने तथा थप आर्थिक प्रतिबन्ध लगाउने सम्भावना छ।
इरानसँग व्यापार तथा वित्तीय कारोबार जारी राख्ने विदेशी कम्पनी र देशलाई लक्षित गर्दै ‘सेकेन्डरी सेन्क्सन’ लागू हुन सक्ने अपेक्षा गरिएको छ। इरानबाट तेल खरिद तथा त्यहाँ हुने वा त्यहाँबाट बाहिर जाने वित्तीय कारोबारसमेत यसको निशानामा पर्न सक्ने बताइएको छ।
अमेरिका र इरानबीच जुन महिनामा भएको समझदारीअन्तर्गत तय गरिएको ६० दिने समयसीमा पनि समाप्त भएको छ। उक्त अवधिमा दुवै पक्षबीच सैन्य झडप जारी रहे पनि इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा कुनै ठोस सहमति हुन सकेन।
यसैबीच, इरानसँगको व्यापारका लागि महत्वपूर्ण पुनःनिर्यात केन्द्रका रूपमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) ले पछिल्लो समय इरानसँगको व्यापार स्थगित गरेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।