–रविन ठकुरी
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा १८ औं संस्करणको ‘नाडा अटो शो–२०२६’ औपचारिक रुपमा सुरु भएको छ । हाल भइरहेको ‘नाडा अटो शो–२०२६’ मा ५३ ब्राण्ड सहभागी भएका छन् । ‘नाडा अटो शो–२०२६’ को अन्तिम दिनसम्म डेढ दर्जनभन्दा बढी नयाँ मोडल लन्च ९अनावरण० हुने भएका छन् ।
यस ‘अटो शो’ मा रहेका २ सय स्टलमा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्राण्डका दुई पाङ्ग्रे र ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र अटोमोबाइलसम्बन्धि अन्य उत्पादनहरु रहेका छन् ।
सवारीसाधन खरिद–विक्रीलाई सहजीकरण गर्नका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले समेत उपस्थिति जनाएका छन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा विभिन्न स्किम राखेर आउने आगन्तुकको ध्यान तानिरहेका छन् । उनीहरुले नयाँ सवारीसाधन खरिदका लागि आगन्तुकलाई बैकिङ्ग सेवामा सहजीकरण गरिरहेका छन् ।
नविलको ५.१७५ ब्याजदरमा अटो लोन, प्रभुको पनि आकर्षक कर्जा योजना
‘नाडा अटो शो–२०२६’ मा नविल बैंकले आफ्नो स्टल राखेर आउने आगन्तुकलाई बैकिङ्ग सेवा सहजीकरण गरिरहेको छ । यसका लागि नविल बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि ५।१७ प्रतिशतको व्याजदरको स्किम दिइरहेको छ ।
यो स्किम ‘नाडा अटो शो–२०२६’ अवधिभर लागू हुनेछ । यस व्याजदरमा ७ वर्षका लागि कर्जा लिन पाइने छ । लोन एडमिन फि ०।५ प्रतिशत रहेको छ ।
‘नविल बैंकले हाल भएको ४।४२ प्रतिशत बेसरेटमा ०।७५ प्रतिशत थप गरि अटो लोन दिन लागेको हो । यो व्याजदर नाडा अटो शो हुने बेलासम्म लागू हुन्छ । यो व्याजदर ७ वर्षको लागि हो ।’, नविल बैंकको नयाँ बानेश्वर शाखाकी क्रेडिट अफिसर सुस्मिता कार्कीले भनिन् ।
‘नाडा अटो शो–२०२६’ मा रहेको प्रभु बैंकले पनि सरल व्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । नयाँ गाडी किन्ने ग्राहकका लागि प्रिमियममा ०।५० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेको हो ।


एनआइसी एशियाको ५.९९५ स्थिर ब्याजदेखि कृषि विकास बैंकको ८०% कर्जासम्म
‘नाडा अटो शो–२०२६’ मा एनआइसी एशिया बैंकको स्टल पनि रहेको छ । एनआइसी एशिया बैंकले अटो शो अवधिभर सरल व्याजदरमा कर्जा प्रवाह गर्न लागेको हो । बैंकले दिने स्किम अटो शो अवधिभर लागू हुने छ ।
‘एनआइसी एशियाले नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि ५।९९ प्रतिशतको स्थिर व्याजदर कायम गरेको छ । यस व्याजदरमा प्रवाह गरिने अटो लोन ७ वर्षका लागि रहने छ ।’, एनआइसी एशिया बैंकका अटो लोन शाखाको अफिसर अर्जुन कुमार श्रेष्ठले भने ।
कृषि विकास बैंकको स्टल पनि ‘नाडा अटो शो–२०२६’ मा राखिएको छ । कृषि विकास बैंकले नयाँ सवारीसाधन खरिदका लागि ८० प्रतिशतसम्मको कर्जाको व्यवस्था गरेको छ ।
यो कर्जा ७ वर्षसम्मको लागि हुने छ । सेवा शुल्कमा ३३.३३ प्रतिशत छुटको व्यवस्था गरेको छ । व्याजदर प्रिमियममा ३३.३३ प्रतिशत नै छुट दिएको छ ।

महालक्ष्मीको ५.९९ प्रतिशतदेखि अटो लोन, राष्ट्रिय वाणिज्य बैंकको एक करोडसम्म कर्जा
‘नाडा अटो शो–२०२६’ मा महालक्ष्मी विकास बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि ५.९९ प्रतिशत दरमा कर्जा सुुविधा दिइरहेको छ ।
‘महालक्ष्मी बैंकले प्रवाह गर्ने कर्जाको सेवा शुल्कमा छुट पनि दिइएको छ । कर्जाको अवधि ७ वर्षको लागि रहेको छ ।’, महालक्ष्मी विकास बैंककी कर्पोरेट कम्युनिकेशन अधिकारी सदिक्षा आचार्यले भनिन् ।
यस अटो शोमा राष्ट्रिय वाणिज्य बैंकले नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि अटो लोनको सुविधा दिइरहेको छ ।
आधारदरमा ०.८५ प्रतिशत प्रिमियम थप गरि राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रवाह गरिरहेको हो । यो कर्जा ७ वर्षको लागि रहने छ । बैंकको अधिकतम कर्जा सीमा एक करोड रुपैयाँसम्मको रहने छ ।

लक्ष्मी बैंकको ५.४९ प्रतिशत फोलोटिङ्ग व्याजदरको कर्जा, ग्लोबल आइएमइको ५.१७ प्रतिशतमा कर्जा
‘नाडा अटो शो–२०२६’ मा लक्ष्मी सनराइज बैंकको स्टल पनि राखिएको छ । बैंकले आउने आगन्तुकका लागि कर्जा सुविधा र सहजीकरण गरिरहेको छ ।
लक्ष्मी सनराइज बैंकले ६० प्रतिशतसम्म फाइनान्सिङ्गको सुविधा दिएको छ । ०.५ प्रतिशतको लोन एडमिन फि लिइरहेको छ ।
‘इभी खरिदका लागि ५.४९ प्रतिशतको फोलोटिङ्ग व्याजदर दिएका छौं । वेसरेटमा ०.५ प्रतिशत थप गरि उक्त फोलोटिङ्ग व्याजदर कायम गरेका हौं ।’, लक्ष्मी सनराइज बैंकका एसिसटेन्ट रिलेसनसिप मेनेजर श्रीसेस जबरा राणाले भने ।
ग्लोबव आइएमइ बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि ५.१७ प्रतिशतको व्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । यो व्याजदर नाडा स्पेशल अफर हो ।

नयाँ सवारी कर्जामा माछापुच्छ्रे बैंक र गोर्खाज फाइनान्सको आकर्षक अफर
माछापुच्छ्रे बैंकले ‘नाडा अटो शो–२०२६’ मा नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि बेसरेटमा ०.५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिरहेको छ ।
बैंकले बेसरेटमा ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम थप गरि कर्जा प्रवाह गरिरहेको हो । कर्जाको प्रोसेसिङ्ग फि भने ०.५० प्रतिशत रहेको छ । नयाँ गाडी खरिदका लागि कर्जा प्रवाहको प्रक्रिया ७ दिनसम्म गरिसक्ने छ ।
गोर्खाज फाइनान्सले नयाँ सवारी खरिदका लागि हायर पर्चेज लोन ६.९९ प्रतिशत व्याजदरमा प्रवाह गर्न लागेको छ । ‘नाडा अटो शो–२०२६’ अवधिभर गोर्खाज फाइनान्सले यो व्याजदरमा कर्जा प्रवाह गर्न लागेको हो ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।