काठमाण्डौ । रसुवामा आएको भीषण बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पुर्याएको छ। स्रोतका अनुसार बाढीका कारण जिल्लामा सञ्चालित ९ वटा वाणिज्य बैंक, ४ देखि ५ वटा विकास बैंक र एक वित्त कम्पनीका शाखा प्रभावित भएका छन्।
बाढीले कतिपय बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका भवन, फर्निचर, विद्युतीय उपकरणलगायतका भौतिक संरचनामा क्षति पुर्याएको छ। कतिपय कार्यालयका संरचना तथा सामग्री बाढीले बगाएको जनाइएको छ।
बाढीपछि बैंक तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारी तथा उनीहरूका परिवारका सदस्यसमेत सम्पर्कविहीन भएका छन्। स्रोतका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाका करिब २५ जना कर्मचारी सम्पर्कविहीन रहेका छन्।
रसुवामा आएको भीषण बाढीबाट नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंकलगायतका बैंकका शाखा कार्यालयसमेत प्रभावित भएका छन्।
बाढीबाट क्षतिग्रस्त शाखा तथा कार्यालयमा भएको भौतिक तथा अन्य क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको सम्बन्धित बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन्।
बाढीका कारण केही बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत सम्पर्कविहीन भएपछि उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य भइरहेको छ। सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यलाई थप तीव्रता दिनुपर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको आग्रह छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।