काठमाण्डौ । नेपालमा आएको आकस्मिक बाढीपछि छिमेकी भारतको बिहारमा उच्च सतर्कता अपनाइएको छ। नेपालमा भोटेकोशी नदीमा आएको बाढी तथा माथिल्लो जलाधार क्षेत्रमा पानीको बहाव बढेपछि बिहारमा गण्डक नदीमा समेत अचानक पानीको सतह बढ्न सक्ने भन्दै विपद् व्यवस्थापन निकायले विशेष निगरानी थालेको हो।
बिहार सरकारको विपद् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिअनुसार नेपालमा गण्डक नदीको माथिल्लो जलाधार क्षेत्रमा आकस्मिक बाढीको अवस्था देखिएकाले नदीको बहावमा अचानक वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाइएको छ। गण्डक नदी आसपासका जिल्लामा सम्भावित बाढीको सामना गर्न आवश्यक तयारी भइरहेको विभागले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा यात्रुको अवस्था अझै यकिन हुन नसकेको नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणले देखाएको छ।
बोर्डका अनुसार अवस्था यकिन हुन बाँकी रहेका यात्रुमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन्। विदेशी नागरिकमध्ये भारतीय नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ। यसबाहेक ३७ जना गैरआवासीय भारतीयको अवस्थासमेत पुष्टि गर्ने प्रयास भइरहेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।