काठमाण्डौ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले हालै आएको बाढीबाट देशभरका पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।
बुधबार बिहान आएको बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै मन्त्री लम्सालले पूर्वाधारतर्फ मात्रै दुई खर्ब रुपैयाँ हाराहारीको क्षति भएको विवरण प्राप्त भएको बताए। उनका अनुसार बाढीले सडक, पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
मन्त्री लम्सालले क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए। आवागमन सहज बनाउन आवश्यक संरचनाको निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने उनको भनाइ छ।
तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सडक तथा पुलमा क्षति पुग्दा विभिन्न क्षेत्रमा यातायातसमेत प्रभावित भएको छ।
बाढीबाट हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।