काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले प्रभावित तथा नदी तटीय क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। बाढीबाट जोखिममा परेका नागरिकको उद्धार तथा राहत व्यवस्थापनका लागि सुरक्षा निकायलाई थप सक्रिय बनाइएको हो।
नेपाली सेनाले बाढी आएको राति नै प्रभावित क्षेत्रमा आवश्यक खाद्य सामग्री, टेन्ट तथा औषधिलगायत राहत सामग्री पुर्याएको जनाएको छ। जोखिममा रहेका नागरिकलाई तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री परिचालन गरिएको हो।
बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो। उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले समेत सहयोग गरिरहेको छ। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरमार्फत हवाई उद्धारका साथै सेनाको टोलीले रातभर स्थलमार्गबाट समेत उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएको थियो।
आज बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी तथा भोटेकोशी नदीको तटीय क्षेत्रमा खोजी तथा उद्धार कार्य थप तीव्र पारिएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरसँगै स्थलमार्गबाट खटिएका टोलीलाई सक्रिय बनाउँदै बाढीका कारण फसेका नागरिकको उद्धार तथा बेपत्ताको खोजी भइरहेको छ।
सरकारले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीका कारण कतिपय स्थानमा आवागमन तथा सम्पर्क प्रभावित भएकाले उद्धार तथा राहत कार्यलाई समन्वयात्मक रूपमा अघि बढाइएको सरकारी निकायले जनाएको छ।
प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन र निजी क्षेत्रबीच निरन्तर समन्वय भइरहेको छ। सरकारले विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रभावित नागरिकको उद्धार तथा तत्कालीन राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।