काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नेतृत्वको टोली बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेको छ।
मुख्यमन्त्री थापामगरसहितको टोलीले नुवाकोटस्थित त्रिशूली नगरपालिका–ढुंगे बजारलगायत बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडित परिवारसँग भेटघाट गरेको छ। सो क्रममा उहाँले प्रभावित नागरिकको अवस्था, बाढीबाट भएको क्षति तथा तत्काल आवश्यक सहयोगबारे जानकारी लिएका छन् ।
टोलीले बाढीपीडितलाई राहत सामग्रीसमेत वितरण गरेको छ। प्रभावित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको समस्या तथा आवश्यकताबारे जानकारी लिँदै मुख्यमन्त्री थापामगरले उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने बताएका छन् ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटका विभिन्न नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले प्रदेश सरकारले स्थानीय तह तथा सुरक्षा निकायसँगको समन्वयमा आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।