काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत उपलब्ध गराउने जनाएको हो।
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् भने विभिन्न स्थानमा बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।
बैंकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित परिवारका लागि खाद्यान्न तथा अस्थायी बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको जनाएको छ।
ग्लोबल आइएमई बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको बताएको छ।
बैंकले यसअघि पनि देशका विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका समयमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
ग्लोबल आइएमई बैंक निजी क्षेत्रबाट मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।