काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा तत्काल सक्रिय हुन देशभरका उद्योगी–व्यवसायी तथा मातहतका संघसंस्थालाई आह्वान गरेको छ।
महासंघले भदौ १० गते जारी गरेको अपिलमा तिब्बत क्षेत्रबाट आएको भोटेकोशी नदीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिक तथा व्यवसायीको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विपद्को जोखिम अझै कायम रहेको उल्लेख गर्दै महासंघले सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कताका साथ खोज, उद्धार र राहत कार्यलाई थप तीव्र तथा प्रभावकारी बनाउन आग्रह गरेको छ।
त्रिशूली नदी तथा त्यससँग जोडिएका तटीय क्षेत्रमा अझै जोखिम रहेको भन्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न, जोखिमपूर्ण क्षेत्रमा आवागमन नियन्त्रण गर्न तथा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने महासंघको भनाइ छ।
महासंघले आफ्ना मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा देशभरका उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा तत्काल जुट्न विशेष अपिल गरेको छ।
खाद्यान्न, पानी, औषधि र लत्ताकपडा जुटाउन आग्रह
महासंघले प्रभावित परिवारका लागि खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापनमा निजी क्षेत्रको सम्पूर्ण क्षमता परिचालन गर्न आग्रह गरेको छ।
“सम्भव भएसम्म राहत सामग्रीको व्यवस्था गरी प्रभावित परिवारसम्म सुरक्षित रूपमा पुर्याउन निजी क्षेत्रको सम्पूर्ण सामर्थ्य परिचालन गरियोस्,” महासंघले अपिलमा भनेको छ।
विपद्को कठिन घडीमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै राज्यका प्रयासमा हातेमालो गर्नुपर्ने महासंघको भनाइ छ।
विपत्तिको मौका छोपेर मूल्य नबढाउन चेतावनी
महासंघले विपद्का कारण सिर्जित असहज परिस्थितिमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्बाध बनाउन उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ।
यस्तो संकटका बेला मानविय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राख्दै बजारमा यथोचित र स्थिर मूल्य कायम गर्न पनि महासंघले आग्रह गरेको छ। यसले विपत्तिको मौका छोपेर अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने वा मूल्यवृद्धि गर्ने गतिविधि नगर्न निजी क्षेत्रलाई स्पष्ट सन्देश दिएको छ।
महासंघले प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायको साथमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थासँग आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको जनाएको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सम्पूर्ण नागरिक तथा उद्योगी–व्यवसायीलाई उच्च सतर्कता अपनाउँदै संयमित, सुरक्षित र एकताबद्ध भएर विपद्को सामना गर्न तथा कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्न आह्वान गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।