काठमाण्डौ । नेपालसँग सीमा जोडिएको चीनको तिब्बत क्षेत्रमा आएको विनाशकारी बाढीपछि चिनियाँ प्रधानमन्त्री ली छियाङ बिहीबार सीमावर्ती क्षेत्र केरुङ (जिरोङ) पुगेका छन्।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङले वरिष्ठ अधिकारीहरूको नेतृत्व गर्दै प्रधानमन्त्री लीलाई प्रभावित क्षेत्रमा पठाएका हुन्। प्रधानमन्त्री लीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार तथा राहत कार्यको निरीक्षण गर्नुका साथै प्रभावित नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
राष्ट्रपति सीले बुधबार नै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री लीले पनि चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँग आवश्यक समन्वय गर्न निर्देशन दिएका थिए।
बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म तीन जनाको शव फेला परेको छ भने ५५८ जना अझै बेपत्ता रहेको बताइएको छ। चिनियाँ विदेश मन्त्रालयका अनुसार नेपालमा समेत करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएका छन्। उनीहरूको खोज तथा उद्धारका लागि नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनियाँ पक्षले जनाएको छ।
प्रधानमन्त्री लीसँगै १४१ जना उद्धारकर्मी पनि बिहीबार दिउँसो केरुङ पुगेका छन्। उद्धार टोलीले ड्रोनलगायत आधुनिक उपकरणको प्रयोग गर्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अघि बढाइरहेको छ।
चिनियाँ जनमुक्ति सेनाको विमानमार्फत उद्धारकर्मीहरूलाई तिब्बत पुर्याइएको जनाइएको छ। चीनले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन परिचालन गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।