काठमाडौं। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकायका कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।
बाढीपहिरोबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएपछि प्रधानमन्त्री शाहले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना उद्धारमा खटिएका छन्।
प्रधानमन्त्रीले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएको उल्लेख गर्दै अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्।
उनका अनुसार आज मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् भने निजी हेलिकप्टरलाई समेत सरकारी कमान्ड तथा समन्वय प्रणालीअन्तर्गत परिचालन गरिएको छ। उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी छ। करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक एवं सामुदायिक भवनमा अस्थायी रूपमा राख्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
तत्काल राहतमा साढे २ करोड
सरकारले तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरेको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत सामग्री बोकेका १० ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएका छन्। थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरबाट पुर्याउने काम भइरहेको छ।
नेपाल रेडक्रसले करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री पठाएको छ। नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थालाई पनि उद्धार तथा राहत अभियानमा परिचालन गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकलाई राहत सामग्री संकलन तथा वितरण केन्द्र बनाइएको छ।
अस्पताल तयारी अवस्थामा, घाइतेको निःशुल्क उपचार
स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाइएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ।
वीर अस्पताल र ट्रमा सेन्टरमा एक–एक सय तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ। घाइते तथा प्रभावित नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको सरकारले जनाएको छ। मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा पनि आवश्यकताअनुसार परिचालन भइरहेका छन्।
विपद् प्रभावित क्षेत्रमा प्रयोग गर्न मिल्ने फिल्ड अस्पताल सेट ‘भीष्म क्युब’समेत त्रिशूलीतर्फ पठाइएको छ।
७० दूरसञ्चार टावर बन्द
बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन्। सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरबाट पठाइएको छ।
नेपाल टेलिकमले प्रभावित नागरिकलाई दैनिक २ जीबी डाटा, ५० एसएमएस र निःशुल्क भ्वाइस कल उपलब्ध गराएको छ। एनसेलले पनि निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा दिएको छ। अस्थायी मोबाइल कनेक्टिभिटी र मोबाइल चार्जिङ सेवा विस्तार गर्ने काम भइरहेको छ।
इन्धन मौज्दात बढाइयो
प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजेल तथा ६ हजार लिटर पेट्रोल मौज्दात राखिएको छ।
सरकारले थप १५ हजार लिटर डिजेल र १५ हजार लिटर पेट्रोल पठाएको छ। त्यस्तै, ८ हजार लिटर हवाई इन्धन मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
ड्रोनबाट क्षति खोजिँदै, थप जोखिम कायमै
प्रभावित क्षेत्रको वास्तविक अवस्था तथा क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण र स्थलगत मूल्यांकन भइरहेको छ। फसेका नागरिक, अवरुद्ध सडक र पहुँचको अवस्था पहिचान गरी उद्धार तथा राहतलाई लक्षित बनाउने प्रयास भइरहेको सरकारले जनाएको छ।
भोटेकोशी र त्रिशूली नदीको बहाव तथा सम्भावित पहिरोको निरन्तर निगरानी भइरहेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चार संरचनाको क्षति मूल्यांकन तथा पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ। विद्युत् प्राधिकरणसँगको समन्वयमा ओपीजीडब्लू तथा विद्युत् संरचना पुनःस्थापनाको कामसमेत अघि बढाइएको छ।
मृतकका परिवारलाई प्रचलित कानुनअनुसार आर्थिक सहायता उपलब्ध गराउने तथा शव पहिचान र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
भारतबाट राहत सामग्री प्राप्त भएको र अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय रेडक्रस महासंघलगायतसँग सहयोगका लागि समन्वय भइरहेको सरकारले जनाएको छ।
प्रधानमन्त्री शाहले उद्धार तथा राहतमा आवश्यक स्रोत–साधनको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
‘हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ,’ उनले भनेका छन्, ‘उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।