Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 11:38:40
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपछि क्षतिग्रस्त सडक र पुलसम्म पहुँच बनाउन ‘ट्र्याक’ खोल्ने काम शुरु

भोटेकोशी बाढीपछि क्षतिग्रस्त सडक र पुलसम्म पहुँच बनाउन ‘ट्र्याक’ खोल्ने काम शुरु
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोबाट क्षतिग्रस्त सडक, राजमार्ग तथा पुलसम्म पहुँच पुर्याउन नयाँ ट्र्याक खोल्ने काम शुरु गरिएको छ। बाढीपहिरोका कारण अवरुद्ध यातायात सञ्जाल पुनः जोड्न तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अघि बढाउन ट्र्याक खोल्ने कामलाई प्राथमिकतामा राखिएको हो।

क्षतिग्रस्त संरचनाको क्षति आकलन र पुनर्निर्माणका लागि प्रभावित स्थलसम्म पुग्न आवश्यक भएकाले प्रारम्भिक चरणमा पहुँचमार्ग निर्माण थालिएको हो।

प्रभावित स्थानसम्म पुग्ने बाटो नै नभएको अवस्थामा क्षतिको अध्ययन र पुनर्निर्माण अघि बढाउन कठिन हुने भएकाले अहिले ट्र्याक खोल्ने कामलाई तीव्रता दिइएको छ। ट्र्याक खुलेपछि प्रभावित क्षेत्रमा पुगेर क्षतिको विस्तृत मूल्याङ्कन गरी पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउन सकिने जनाइएको छ।

नयाँ ट्र्याक निर्माण भएपछि अवरुद्ध सडक तथा राजमार्गमा यातायात सञ्चालन गर्न सहज हुने सडक विभागको अपेक्षा छ। क्षतिग्रस्त पुल तथा सडकखण्डसम्म पहुँच स्थापित भएपछि स्थायी मर्मत र पुनर्निर्माणको कामसमेत अघि बढाउन सकिनेछ।

Bizshala
CG Motors

त्यसैगरी, प्रभावित स्थानीय बासिन्दाका लागि खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री पुर्याउन समेत सहजता हुने विभागले जनाएको छ।

विपद्पछि पूर्वाधार पुनःस्थापनाको काम मुख्यतः ‘रेस्पन्स’, ‘रिकभरी’ र ‘रिकन्स्ट्रक्सन’ गरी तीन चरणमा अघि बढाइनेछ । पहिलो चरणअन्तर्गत क्षतिग्रस्त संरचनासम्म पुग्न तत्काल पहुँचमार्ग अर्थात् ट्र्याक खोल्ने काम गरिन्छ। दोस्रो चरणमा खुलेको बाटोलाई थप सुधार गरी सञ्चालनयोग्य बनाइन्छ भने तेस्रो चरणमा क्षतिग्रस्त संरचनालाई पहिलेभन्दा बलियो, सुरक्षित र दिगो हुने गरी पुनर्निर्माण गरिन्छ।

बाढीपहिरोले पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग तथा गल्छी–त्रिशूली–वेत्रावती–स्याफ्रुबेँसी सडकखण्ड लगायतका प्रमुख यातायात सञ्जालमा व्यापक क्षति पुर्याएको छ।

बाढीका कारण पासाङ ल्हामु राजमार्ग तथा त्रिशूली करिडोरको करिब ४० किलोमिटर सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। यससँगै रसुवाको सडक सम्पर्कसमेत विच्छेद भएको छ।

नुवाकोटको वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकखण्ड पनि बाढीपहिरोबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै, गल्छीदेखि त्रिशूलीसम्म करिब १० किलोमिटर सडक अवरुद्ध छ भने पृथ्वी राजमार्गको करिब १३ किलोमिटर सडकखण्ड लेदो तथा पहिरोले पुरिएको छ।

भोटेकोशी बाढीपहिरोबाट मुलुकको भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २० अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको अनुमान गरिएको सडक विभागले जनाएको छ। समग्र अर्थतन्त्रमा भने दुई खर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।

भोटेकोशीमा आएको भीषण बाढीपहिरोले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ४१ वटा पुलमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ। क्षतिग्रस्त संरचनामा नेपाल–चीन जोड्ने मितेरी पुल (रसुवागढी), टिमुरे पुल–१ र २, भोटेकोशी पुल (चिलिमे), स्याफ्रुबेँसी पुल तथा नुवाकोटका पुराना र नयाँ वेत्रावती पुललगायत छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.