Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 05:37:40
Bizshala
Global IME Bank Limited

भोटेकोशी विपत्तिले सञ्चार क्षेत्रसमेत तहसनहसः पत्रकार बेपत्ता, परिवार सम्पर्कविहीन, रेडियो बन्द

पत्रकार टेकबहादुर थामीसहित कयौँको अवस्था अज्ञात, विद्युत् र उपकरणमा क्षति पुग्दा एफएमहरूको प्रसारण अवरुद्ध

भोटेकोशी विपत्तिले सञ्चार क्षेत्रसमेत तहसनहसः पत्रकार बेपत्ता, परिवार सम्पर्कविहीन, रेडियो बन्द
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याउनुका साथै पत्रकार र सञ्चारमाध्यमलाई समेत गम्भीर रूपमा प्रभावित गरेको छ।

प्रेस काउन्सिल नेपालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित पत्रकार, उनीहरूका परिवार तथा सञ्चारमाध्यमको प्रारम्भिक अनुगमन विवरण सार्वजनिक गरेको हो। काउन्सिलको विवरणमा समाचार संकलनका क्रममा गएका पत्रकार बेपत्ता भएको, पत्रकारका परिवार सम्पर्कविहीन बनेको, घर तथा कार्यालय बाढीले क्षतिग्रस्त बनाएको र विद्युत् तथा उपकरणमा क्षति पुग्दा विभिन्न रेडियोको प्रसारण बन्द भएको उल्लेख छ।

काउन्सिलले हालसम्म २० पत्रकार, उनीहरूका परिवार तथा सञ्चार संस्थाबारे विवरण संकलन गरेको छ। यसले विपत्तिले सूचना प्रवाहको अग्रपंक्तिमा काम गर्ने सञ्चारकर्मीलाई समेत असुरक्षित बनाएको गम्भीर अवस्था देखाएको छ।

Bizshala
CG Motors

समाचार संकलनमा गएका टेकबहादुर थामी सम्पर्कविहीन

काउन्सिलका अनुसार नयाँ पत्रिका दैनिकका टेकबहादुर थामी रसुवामा आएको भीषण बाढीपछि समाचार संकलनका लागि केरुङतर्फ जाने क्रममा सम्पर्कविहीन भएका छन्।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थामी भदौ ९ गतेदेखि सम्पर्कमा नआएको विवरणमा उल्लेख छ। उनकी पत्नी तथा पत्रकार कालिका खड्काले नेपाल पत्रकार महासंघका प्रतिनिधिसँग सम्पर्क गरी खोजीका लागि पहल गरे पनि भदौ १४ गतेसम्म थामी सम्पर्कमा आउन नसकेको काउन्सिलले जनाएको छ।

यस्तै, भक्तपुरका पत्रकार शेखर दुङ्गाना पत्नीसमेत मानसरोवर भ्रमणमा गएका बेला भदौ १० गतेदेखि सम्पर्कविहीन छन्। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकीसँग टेलिफोन सम्पर्क गरी घटनाबारे थप विवरण लिइएको काउन्सिलले जनाएको छ।

नागरिक पोस्टसँग आबद्ध पत्रकार तथा राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली पनि भोटेकोशी बाढीका क्रममा रसुवामा कार्यरत रहेकै बेला सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।

पत्रकार केशव न्यौपाने पनि बाढीपछि सम्पर्कमा आउन नसकेको र उनीसहित गाउँका अन्य स्थानीयलाई उद्धार गर्नुपर्ने अवस्था रहेको जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ।

परिवारसहित पत्रकार बेपत्ता

शिलापत्र डटकमसँग आबद्ध सुरेश सिम्खडासमेत सम्पर्कविहीन छन्। आमा र दिदीसहित तिब्बतस्थित कैलाश मानसरोवर तीर्थयात्रामा निस्किएका शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सिम्खडा रसुवाको टिमुरे क्षेत्रमा बाढी आएपछि सम्पर्कमा आउन नसकेको विवरणमा उल्लेख छ।

नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना भएका पत्रकार निरञ्जन पौडेलको परिवारका धेरै सदस्य एकैपटक सम्पर्कविहीन भएको काउन्सिलले जनाएको छ। उनकी पत्नी पत्रकार विद्या राजपुतसहित दुई छोराछोरी, बुबाआमा, अंकल-आन्टी र बहिनीसमेत भदौ १० गते बिहानदेखि सम्पर्कमा नरहेको विवरणमा उल्लेख छ।

मानसरोवर दर्शनका लागि गएका पत्रकार लोनस्टरी कुँवरका ससुरा अमर कुँवर र सासू मनकुमारी खड्का पनि सम्पर्कविहीन छन्। त्यस्तै, रसुवाको घट्टेखोला जङ्गल क्षेत्रमा पत्रकार अनु आचार्यका भाइ अचेत अवस्थामा फेला परेको जानकारी आए पनि काउन्सिलको विवरण तयार हुँदासम्म उद्धार हुन नसकेको उल्लेख छ।

आर्थिक कुरा डटकमका इन्द्र बानियाँ पनि एक समय सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। यद्यपि, भदौ १३ गते दिउँसो मोबाइलमा सम्पर्क हुँदा उनी सकुशल काठमाण्डौ फर्किएको जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ।

पत्रकारका घर, कार्यालय र खेतीबारीमा क्षति

बाढीले पत्रकारका घर तथा कार्यस्थलमा पनि क्षति पुर्‍याएको छ। नुवाकोटको दुप्चेश्वरमा रहेका पत्रकार किरण अधिकारीको घर र कार्यालय बाढीले बगाएको विवरणमा उल्लेख छ।

धादिङका पत्रकार विपिन मल्लको बेँसी बजारस्थित घरमा पनि क्षति पुगेको छ। नुवाकोटको विदुर नगरपालिका–१० का पत्रकार सन्नी श्रेष्ठको घर र खेतीबारी बाढीबाट प्रभावित भएको काउन्सिलले जनाएको छ।

यी विवरणले सञ्चारकर्मीहरू समाचार संकलनका क्रममा मात्र नभई आफ्नै परिवार, घर, कार्यालय र जीविकोपार्जनका आधार गुमाएर पनि संकटमा परेको देखाएको छ।

रेडियोहरूको प्रसारण बन्द, सञ्चार सम्पर्कमा गम्भीर असर

बाढी र त्यसपछिको विद्युत् अवरोधले स्थानीय रेडियोहरूको सञ्चालनमा समेत गम्भीर असर पारेको छ।

नुवाकोट एफएमको विद्युत् संरचना, फाइबर र प्रसारण उपकरणमा क्षति पुगेपछि तत्काल सञ्चालन गर्न नसकिने अवस्था रहेको छ। रसुवाको रेडियो लाङटाङ विद्युत् प्रवाह नभएपछि बन्द भएको छ भने रेडियो मैरेनी विद्युत् अवरुद्ध हुँदा तीन दिनसम्म सञ्चालन हुन सकेन।

जल्पा रेडियो नियमित विद्युत् आपूर्ति नहुँदा बन्द अवस्थामा छ। रसुवा एफएम पनि विद्युत् अभावका कारण सञ्चालनमा आउन सकेको छैन। रेडियो चित्रेश्वर सञ्चालन गर्न कठिनाइ भएको तथा गञ्जय रेडियो आंशिक रूपमा मात्रै सञ्चालन भएको विवरणमा उल्लेख छ।

रेडियो त्रिशूलीलाई पनि बाढीपछि विद्युत् आवागमन अवरुद्ध हुँदा सञ्चालनमा समस्या परेको छ।

स्थानीय तहमा विपद्सम्बन्धी सूचना, उद्धारको सन्देश, जोखिम चेतावनी तथा राहत विवरण प्रसारण गर्ने महत्त्वपूर्ण माध्यम रेडियो नै हुन्। तर, विद्युत्, फाइबर र उपकरणमा क्षति पुगेर तिनै रेडियो बन्द हुँदा प्रभावित समुदायसम्म सही तथा समयमै सूचना पुर्‍याउने संयन्त्र कमजोर बनेको छ।

सञ्चार क्षेत्रमा क्षतिको छुट्टै मूल्यांकन आवश्यक

प्रेस काउन्सिलको प्रारम्भिक विवरणले भोटेकोशी विपत्ति सञ्चार क्षेत्रका लागि बहुआयामिक संकट बनेको देखाएको छ। पत्रकार स्वयं बेपत्ता छन्, उनीहरूका परिवार सम्पर्कविहीन छन्, घर तथा कार्यालयमा क्षति पुगेको छ र स्थानीय रेडियोहरू बन्द भएका छन्।

यसले विपद्का बेला नागरिकसम्म सूचना पुर्‍याउने सञ्चार संरचना नै संकटमा परेको संकेत गर्छ। प्रभावित पत्रकारको खोजी, परिवारको उद्धार, सञ्चार उपकरणको पुनःस्थापना तथा रेडियो सञ्चालनका लागि आकस्मिक विद्युत् र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ।

प्रेस काउन्सिलले काउन्सिलका सदस्य तथा कर्मचारीलाई विभिन्न पत्रकार, महासंघका जिल्ला नेतृत्व र परिवारसँग सम्पर्क गरी तथ्य संकलनमा परिचालन गरेको जनाएको छ। सार्वजनिक विवरण प्रारम्भिक भएकाले प्रभावित पत्रकार र सञ्चार संस्थाको संख्या अझै बढ्न सक्ने देखिन्छ।

विपत्तिको आवरणमा भ्रम नफैलाउन चेतावनी

काउन्सिलले यस संवेदनशील घडीमा केही पत्रकारले प्रेस स्वतन्त्रताको दुरुपयोग गर्दै यथार्थविपरीत तस्बिर, भिडियो तथा स्टाटस राखेको विषयमा पनि अनुगमन भइरहेको जनाएको छ।

विपत्तिका बेला अपुष्ट सूचना र भ्रामक सामग्रीले उद्धार कार्य प्रभावित पार्न, पीडित परिवारमा थप त्रास फैलाउन तथा राज्यका निकायलाई गलत दिशामा परिचालित गर्न सक्ने भएकाले सञ्चारमाध्यम र पत्रकारले तथ्य प्रमाणीकरण गरेर मात्रै सामग्री प्रकाशन–प्रसारण गर्नुपर्ने काउन्सिलको संकेत छ।

भोटेकोशीको बाढीले सञ्चारकर्मी र सञ्चार संस्थामा पुर्‍याएको क्षतिले एउटा गम्भीर प्रश्न उठाएको छ-विपत्तिको सूचना जनतासम्म पुर्‍याउने पत्रकार र सञ्चारमाध्यम स्वयं संकटमा पर्दा उनीहरूको उद्धार र संरक्षण कसले, कसरी र कति छिटो गर्ने ?

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.