काठमाण्डौ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिएको दाबी गर्दै सुरक्षा जोखिम देखिएपछि उद्धार गरी सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको बताएका हुन्।
उनका अनुसार जबराको सुरक्षामा जोखिम देखिएपछि प्रहरीले उनलाई घरबाट सुरक्षित स्थानमा लगेको थियो। पछि जबराको परिवारले थप सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दिएको घटनाले पनि उनी पक्राउ नभई सुरक्षाका लागि लगिएको पुष्टि गर्ने पोखरेलको दाबी छ।
‘उहाँलाई पक्राउ गरिएको होइन। नियन्त्रणमा पनि लिइएको होइन,’ पोखरेलले भने, ‘सुरक्षामा प्रश्न आएपछि सुरक्षा प्रदान गर्न रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति महाराजगञ्जस्थित निवासबाट जबरालाई लगेको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको भन्ने विवरण सार्वजनिक भएका थिए। उनी आइतबार दिउँसो त्यहाँबाट बाहिरिएका थिए।
तर सरकारले उक्त घटनालाई पक्राउका रूपमा व्याख्या नगर्न आग्रह गर्दै जबराको सुरक्षाका लागि गरिएको ‘रेस्क्यु’ भएको दाबी गरेको हो।
प्रवक्ता पोखरेलले जबराको परिवारले पछि प्रहरीसमक्ष थप सुरक्षा माग गर्दै दिएको निवेदनलाई सरकारको दाबीको आधारका रूपमा प्रस्तुत गरेका छन्।
जबरालाई राति निवासबाट लैजानुको प्रकृति र कानुनी आधारबारे प्रश्न उठिरहेका बेला सरकारले औपचारिक रूपमा ‘पक्राउ होइन, सुरक्षा प्रयोजनका लागि उद्धार’ गरिएको स्पष्टीकरण दिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।