काठमाण्डौ । रसुवागढी–केरुङ नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा बन्द भएपछि चीनबाट नेपालतर्फ पैठारी हुने मालवस्तु र मालवाहक कन्टेनर मुस्ताङको कोरला नाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन्।
रसुवागढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि आयातकर्ताले वैकल्पिक नाकाका रूपमा कोरला नाका प्रयोग गर्न थालेका हुन्। यससँगै पछिल्लो समय कोरला नाकातर्फ जाने मालवाहक कन्टेनरको संख्या बढ्दै गएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको जोमसोमस्थित चेकपोस्टले आइतबार साँझ मात्रै ६६ वटा मालवाहक कन्टेनरको विवरण संकलन गरेको छ। रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको आवागमन बढिरहेको चेकपोस्टले जनाएको छ।
कोरला नाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाले रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तु कोरला नाकातर्फ डाइभर्ट हुन थालेपछि आफूहरू सामान ढुवानीका लागि कोरलातर्फ जान थालेको बताए।
सरकारले कोरला नाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा ल्याएपछि यसको राजस्व योगदानसमेत बढ्दै गएको छ। कोरला भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै कोरला भन्सार कार्यालयले २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
यसैबीच, बढ्दो व्यापारिक गतिविधिको तुलनामा कोरला भन्सार कार्यालयमा जनशक्ति भने अपुग रहेको छ। मुस्ताङ भन्सार कार्यालय प्रमुख विदुर चुडालका अनुसार कार्यालयमा १८ जनाको दरबन्दी रहे पनि हाल १२ जना कर्मचारी मात्र कार्यरत छन्।
रसुवागढी नाका बन्द भएपछि कोरला नाकामा मालवस्तु तथा कन्टेनरको चाप थप बढ्ने देखिएको छ। यसले सीमापार व्यापार व्यवस्थापनसँगै भन्सारको राजस्व संकलनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।