बुधबार, भाद्र १७,२०८३ 11:41:31
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 11:41:31
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

भोटेकोशी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द
New Office

काठमाण्डौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटका प्रभावित क्षेत्रका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। बाढीबाट प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन तत्कालका लागि स्थगित गरेका छन्।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक बेपत्ता हुनुका साथै विद्यालय भवन, सडक र पुलमा ठूलो क्षति पुगेपछि विद्यालय सञ्चालन गर्न कठिन भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए। उनका अनुसार दैनिक जनजीवन सामान्य बन्दै गएर नदी वारपार गर्न सक्ने अवस्था भएपछि मात्रै विद्यालय सञ्चालन गरिनेछ।

विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउन सक्ने पूर्वसूचना भए पनि यसको प्रभाव यति ठूलो हुने अनुमान गरिएको थिएन। उनका अनुसार केही विद्यालयले समयमै उच्च सतर्कता अपनाएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

‘अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ,’ उनले भने, ‘केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन–अध्यापन गराउने योजना बनाउनेछौँ।’

त्रिशूली नदीको बाढीबाट विदुर नगरपालिका नुवाकोटको सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ। नगरपालिकाभित्र सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्याङ्कअनुसार चारवटा विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ। ती विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाइएको छ।

त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विद्यालयको एउटा ब्लक मात्र बाँकी रहेको छ।

चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय र पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार आसपासमा समेत क्षति पुगेको छ। यी क्षतिका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएको छ।

बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा बस र उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका दुईवटा बससमेत बगाएको छ।

किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा प्रत्यक्ष ठूलो क्षति नपुगे पनि बाढीका कारण विस्थापित नागरिकलाई राख्न दुईवटा विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ।

त्यस्तै, बेलकोटगढीमा पनि एउटा विद्यालयलाई विस्थापितका लागि होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ। बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नं। ५ स्थित महादेव माध्यमिक विद्यालयसमेत प्रभावित बनेको छ।

बाढीबाट शैक्षिक संरचनासँगै विद्यार्थी, शिक्षक तथा अभिभावकको आवागमनसमेत प्रभावित भएपछि नुवाकोटका प्रभावित क्षेत्रमा नियमित पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने अनिश्चित बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.