काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरी भासिएपछि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोही स्थानमा करिब १०० मिटर लामो वैकल्पिक ट्रयाक निर्माण गरी सवारी आवागमन सुरु गरिएको हो।
प्रहरीका अनुसार वैकल्पिक मार्गबाट अहिले सामान्य रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। यद्यपि ट्रयाक नयाँ र अस्थायी प्रकृतिको भएकाले यात्रा अझै जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ।
बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएको छ। यसअघि कृष्णभिर क्षेत्रमा पनि सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेपछि काठमाडौं आउजाउ गर्ने सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग हुँदै आएको छ।
विशेषगरी नारायणगढबाट हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने विभिन्न रुट प्रयोग गरी सवारी साधन सञ्चालन भइरहेका छन्।
परेवाभिरमा वैकल्पिक ट्रयाक खुलेसँगै पृथ्वी राजमार्ग हुँदै आवतजावतमा केही सहजता आएको भए पनि बाढीले कमजोर बनाएको भूभाग र अस्थायी सडकका कारण चालक तथा यात्रुलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।