काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगरस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी राज्यलाई करोडौं रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी भनिएका पर्वतराज कान्त मिश्राविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार साविक बुझौली गाउँ पञ्चायतअन्तर्गत पर्ने हदबन्दीको सरकारी जग्गा कर्मचारी र भू–माफियाको मिलेमतोमा व्यक्तिको नाममा कायम गरी राज्यलाई ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ नोक्सानी पुर्याइएको छ।
उक्त जग्गा भूमिसम्बन्धी कानुन लागू हुनुअघि नै स्वर्गीय सुर्जा मिश्राले हदबन्दीभन्दा बढी भएपछि कालीजी मन्दिरलाई दान दिएको देखिएको अख्तियारको भनाइ छ।
अख्तियारका अनुसार वि.सं. २०२२ सालमै हदबन्दीमा परी सरकारी तथा सार्वजनिक भइसकेको र फिल्डबुकमा समेत कुनै व्यक्तिको नाम उल्लेख नभएको जग्गालाई बदनियतपूर्ण रूपमा व्यक्तिको नाममा कायम गरिएको अनुसन्धानबाट खुलेको छ।
उक्त जग्गा पछि नागरिक उड्डयन प्राधिकरणको नाममा नामसारी गरी मुआब्जाबापत ठूलो रकम प्राप्त गर्ने उद्देश्यले पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरिएको अख्तियारको दाबी छ।
यस क्रममा मालपोत कार्यालय भैरहवाका तत्कालीन कर्मचारीहरूले अदालतको परमादेशको गलत व्याख्या गरेको, भूमिसम्बन्धी कानुनको आवश्यक प्रक्रिया पालना नगरेको तथा भू–माफियासँग मिलेमतो गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अख्तियारको आरोप छ।
अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसहित चार कर्मचारी प्रत्येकसँग ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो दाबी गरेको छ।
त्यस्तै, जग्गाधनी भनिएका पर्वतराज कान्त मिश्रालाई पनि मुख्य कसुरदार सरह सजाय तथा बिगो असुलउपरको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।